सुर्खेत, १९ चैत (जागरण) । घरतर्फ फर्किन थालेका कर्णाली प्रदेशका दर्जनौँ नागरिकहरु नेपाल भारत सिमाक्षेत्रमा अलपत्र परेका छन् ।
कोरोना भाइरसको त्रास बढेपछि भारतिय पक्षले घर फिर्ता हुन दवाव दिएपछि घरतर्फ फर्किएका नागरिकहरु कञ्चनपुर नजिकको दोधारा चाँदनी र त्यस नजिकको नाका क्षेत्रमा अलपत्र परेका हुन् । भारतबाट फर्किएका उनिहरुलाई नेपाल तर्फको प्रशासनले पनि कडाई गरिरहेको छ भने भारततर्फ फिर्ता हुने अवस्था पनि छैन ।
भारतबाट फर्किएकामध्ये केही भारततर्फ र केही नेपालतर्फ प्रवेश गरिसकेको गुराँस गाउँपालिका वडानम्वर ८ दैलेखका यामबहादुर खड्काले जागरणलाई बताउनुभयो ।
नेपाल तर्फ आइसकेका आफुहरुलाई त्यहाँको स्थानिय तह र सुरक्षाकर्मीले खाना खुवाई त्रिपालमूनी राख्ने गरेको उहाँको भनाई छ । नेपालतर्फ गुराँस गाउँपालिका वडानम्वर ६, ७ र ८ का गरी २३ जनाले प्रवेश गरिसकेका छन् ।
आफूहरुलाई सुदुपश्चिम प्रदेश वा कर्णाली प्रदेश जहाँ क्वारेन्टाइन बनाएर राखे पनि १४ दिन बस्न तयार रहेको बताउँदै खड्काले अलपत्र नपार्न अनुरोध गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले नेपाल तर्फ आइसकेका नागरिकको हकमा दुईवटा प्रदेश सरकारबीच समन्वय भइरहेको बताउनुभयो ।
भारततर्फ रहेका नागरिकलाई भारतमै बस्ने व्यवस्था गरिने र नेपाल तर्फ आइसकेकाहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी रहेको उहाँको भनाई छ ।