वीरेन्द्रनगरमा विपन्न परिवारलाई राहत दिने प्रक्रिया शुरु

सुर्खेत, २० चैत (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले दैनिक ज्यालादारीमा काम गरेर परिवार पाल्नेहरुलाई राहत दिने निर्णयको कार्यान्वयन शुरु गरेको छ ।

यसअघि गरिएको निर्णयअनुसार अव त्यसको कार्यान्वयनका लागि घरधुरी सर्वेक्षण कार्य अघि बढेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका कार्यवहाक नगर प्रमुख मोहनमाया ढकालले वडाहरुसँग समन्वय गरी वडा वडामा सर्वेक्षणको काम शुरु गरिएको बताउनुभयो ।

वडामा बसोबास गर्ने नागरिकहरुलाई मास्क वितरण गर्दै नामावली संकलन गर्न निर्वाचिन जनप्रतिनिधिहरु टोल–टोलमा गएका छन् ।सर्वेक्षणबाट आएको नतिजाको आधारमा नागरिकहरुलाई राहत वितरण गरिने कार्यवहाक नगरप्रमुख ढकालले बताउनुभयो । उपत्यकाभित्रका सवै वडाहरुमा अहिले सर्वेक्षणको काम भइरहेको छ ।

उहाँले विपतको बेला वडाले मात्र नभई सम्पुर्ण नागरिकले समस्या परेका व्यक्तिहरुलाई आफ्नो–आफ्नो ठाँउवाट आवश्यक सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।