लकडाउन अवधिभित्र आठ हजार बढी कर्णाली भित्रिए

सुर्खेत, २० चैत (जागरण) । कर्णालीमा लकडाउन अवधिभित्र आठ हजार ६ सय ५० नागरिक विदेशबाट भित्रिएका छन् । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयकाअनुसार लकडाउन घोषणायता प्रदेशभर आठ हजार ६ सय ५० जना भित्रिएका तथ्याङ्क छ ।

प्रदेश सरकारको यही चैत्र ७ गते बसेको प्रदेश विपद् परिषद्को बैठकद्वारा कर्णालीबासीलाई १० दिनभित्र आईपुग्न गरेको आह्वानपश्चात विदेशबाट कर्णाली भित्रिने आठ हजार ६ सय ५० नागरिकको तथ्याङ्क सङ्कलन भएको हो ।

मन्त्रालयले विदेशबाट स्वदेश भित्रिने नागरिकको सङ्ख्यामा जुम्लामा सबैभन्दा बढी पाँच हजार ८० रहेका जनाएको छ । कर्णालीमा भारतबाट भित्रिने नागरिक बढी रहेका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो ।

कामको सिलसिलामा भारत गएका नागरिकको फर्कने सङ्ख्यालाई मध्यनजर गरेर वीरेन्द्रनगरको खुलामञ्चमा ४ सय निगरानी कक्ष बनाइएको र हाल त्यसमा १ सय ९२ व्यक्तिलाई राखिएको उहाँले बताउनुभयो ।

उहाँका १० वटै जिल्लागरी ५ सय २५ व्यक्तिलाई क्वारेन्टाइन र एकजनालाई आइसोलेसनमा राखिएको तर कोरोना सङ्क्रमित कोही नभएको उहाँको भनाई छ ।

नागरिकको स्वास्थ्य उपचारार्थ ज्यान जोखिममा राखेर काममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपिई, गाउँन, आईआर थमोमिटर, पञ्जा, ग्लोब, सर्जिकल एवं एन–९५ मास्कसमेत सबै जिल्लामा पु-याइ सकिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिक गाउँ केन्द्रीत भएपछि प्रदेश सरकार जिल्ला अनुगमन तथा कार्यान्वयन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय तहसँग समन्वय गर्न थालेको छ ।