कोरोना परिक्षण अव सुर्खेतमै

सुर्खेत, २० चैत (जागरण) । आजदेखि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण हुने भएको छ । प्रदेश सरकारले प्रदेश अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको छ ।

सामाजिक विकासमन्त्री दल रावलका अनुसार कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन ल्याई प्रयोगशालाको तयारी सुरु गरिएको हो । करिव २५ लाख रुपैयाँको लागतमा केन्द्र सरकारले थ्रोट नमुना टेस्ट मेसिन उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

फाइल फोटो

प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्मर खड्काले सुरुमा प्रयोगशालामा ३ जनाको जनशक्ति खटाइने बताउनुभयो । प्रयोगशालामा खटिने स्वास्थ्यकर्मीलाई केन्द्रबाटै खटाइएका क्लिनिकल माइक्रोबायोलोजिष्ट रामकृष्ण श्रेष्ठले तालिम दिनुहुने छ ।

यसअघि कोरोना परीक्षणका लागि नमुना संकलन गरी जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउनुपर्ने बाध्यता थियो । कर्णालीबाट अहिलेसम्म कोरोना भाइरसको संक्रमणको आशंका गरिएका ३१ जनाको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको छ । तीमध्ये २८ जनाको रिपोर्ट आइसकेकोमा कसैमा कोरोनाको संक्रमण देखिएको छैन ।