महामारी र विपत्तिमा सामाजिक अगुवा र जनप्रतिनिधिको न्यूनतम् दायित्व

(टोपबहादुर बि.सी)

जनप्रतिनिधि ! सामान्यतया जनताको तर्फबाट प्रतिनिधित्व गर्ने (जनताको वारेस) व्यक्तिलाई जन प्रतिनिधि भनेर बुझिन्छ । वारेस तथा प्रतिनिधिले केवल जनताको पक्षमा मात्र निर्णय गर्ने कार्यकारी अधिकार राख्दछ । जनताको पक्षमा काम गर्नका लागि नियुक्त (निर्वाचित) हुन चाहेका धेरै उमेदवारहरू मध्येबाट १ जना विश्वासिलो र सक्षम वारेस छनौट गरी जनताले जसलाई पठाउँछन् त्यो नै जन प्रतिनिधि हो ।

निर्वाचित हुनुपूर्व जनप्रतिनिधिले म तपाईँहरूले विश्वास गर्न योग्य छु, तपाईँले दिएका आदेश अक्षरशः पालना गर्नेछु, तपाईँहरू माथि आइलाग्ने हर समस्याको सामना गर्न म सक्षम छु भन्ने प्रतिबद्धताका साथ विश्वासको अधिकम मत लिएर जनप्रतिनिधिको सम्मानित दर्जा प्राप्त गर्दछ । यो सौभाग्य सबैले चाहँदैमा पाउँदैनन् । एक युगमा आउने एक दिनले यस्ता व्यक्तिहरू जन्माएको हुन्छ ।

वास्तवमा राजनीतिक लाइनबाट समाज सेवा गर्नेहरू अझ संसदीय व्यवस्थामा प्रवेश गरी निर्वाचित हुने असल जन प्रनिनिधिको विल्कुलै निजी जीवन नभएकै सरह मान्दा हुन्छ, अर्थात् उसको निजी काम, निजी स्वभाव तथा निजी जीवनका कारण जनताको काममा कुनै असर पर्नु हुँदैन । समाजमा सहयोगी भावना सबैको हुन्छ । सामाजिक काममा सरिक सबै भएका हुन्छन् । तथापी आधिकारिक ढङ्गबाटै सरकार र जनताबिच समन्वय गरी कार्य गर्न सबै समाजसेवीकै बिचबाट अझ अब्बल व्यक्ति छनौट गरिएको हुन्छ । अब्बलको अर्थ सर्वज्ञाता सर्वगुण सम्पन्न हुनुपर्छ भन्ने छैन र हुदैन पनितथापि सर्वेसर्वा कामको अगुवाई उसले गर्नुपर्छ । जनताले सबै समस्याको समाधान जन प्रतिनिधिबाट खोजेका हुन्छन् । यहाँनेर आफ्नो विषयगत ज्ञान र साधन श्रोत अभावका बावजुद पनि उचित समयमा उचित निर्णय लिने सामथ्र्य राख्ने तथा सबै पक्षको कुशल व्यवस्थापन गर्न सक्ने व्यक्ति नै अहिलेको परिवेशमा असल नेता तथा सफल जनप्रतिनिधि हो ।

अहिले कोरोनाभाइरसको महामारीले समाज प्रताडित भएको छ । यो महामारी खासगरी चीन, युरोप र अमेरिकालगायतका देशहरूको तुलनामा दक्षिण पूर्वी एसियाका देशहरुमा निकै कम असर हो र अझ हाम्रो देशको हकमा वास्तविक असरभन्दा बढी त्रास हो । भनिन्छ, संसारका करिब ९०% सर्पको विष लाग्दैन, यी केवल वातावणीय संतुलनका लागि मात्र जीवित हुन्छन् । सर्पदंशको कारण मर्ने अधिकांश मानिस विष लागेर भन्दा पनि डरको कारण आफ्नो सन्तुलन गुमाएर मृत्यू हुने गर्दछन् । आज कोरानाको असर पनि शरीरमा भन्दा दिमागमा बढी परेको कारण सबै शरीर लुलो हुने अवस्थामा पुगेको छ । यस अवस्थाबाट समाजलाई हौसला दिएर आत्मबल बढाउने काम समाजसेवी र अगुवाहरूको हो भने आवश्यक भौतिक सामग्री, जनशक्ति र उपलव्ध सबै पक्ष, साधन श्रोतको उचित संयोजन एवम् व्यवस्थापन र परिचालन गर्ने जिम्मेवारी जन प्रतिनिधिहरूको हो ।

अहिले समाजका अगुवा तथा जनप्रतिनिधिहरूले आफ्नो कार्य कौशलता तथा क्षमता प्रदर्शन गर्ने यो उचित अवसर पनि हो । जनताले निर्वाचित गरेका जन प्रतिनिधिहरूको जिम्मेवारी हाम्रो देशको व्यवस्थापकीय ढाँचा अनुसार २ प्रकारका ढाँचामा विभाजित छन् । एउटा कार्यपालिकातर्फको जिम्मेवारीमा वडा अध्यक्ष देखि प्रधानमन्त्रीसम्म छन् । अर्को व्यवस्थापकीय संसद (नीतिनिर्माण) तर्फको जिम्मेवारीमा खासगरी प्रदेश सभाका माननीय सभासद र संघीय सांसद राष्ट्रिय सभा र प्रतिनिधीसभाका माननीय सांसदहरू । अहिलेको परिस्थितिको सामना गर्ने मुख्य काम कार्यपालिकातर्फको जिम्मेवारी पाउने जनप्रतिनिधिहरूको हो । खासगरी वडा अध्यक्ष, स्थानीयतह प्रमुख, उप–प्रमुख, प्रदेश सरकार र केन्द्र सरकारको साथै प्रशासनिक अंगहरुको हो । अहिले आ–आफ्नो भौगोलिक कार्यक्षेत्र, विभाजित विषयगत कार्यक्षेत्रभित्र रहेर जनप्रतिनिधिहरूले प्रभावकारी ढङ्गले काम गर्न जरुरी छ । अहिलेको अवस्थामा न्यूनतम् पनि स्थानीयतहका जन प्रतिनिधिले निम्न कार्यहरूको व्यवस्थापन गर्न सके मात्रपनि समाजलाई यो सङ्कटबाट मुक्त गर्न धेरै हदसम्म सहयोग र सफलता मिल्छ कि भन्ने लागेर यहाँहरू समक्ष पस्केको छु ।

१. आ–आफ्नो क्षेत्रका सबै व्यक्ति र घरधुरीलाई आफ्नो घरभित्रै बस्न तथा सरकारको अनुरोध निर्देशन पालना गर्न प्रेरित गर्ने ।

२. दीर्घरोगी तथा घातक रोग लागेका व्यक्ति, बालक, वृद्ध, गर्भवतीको लगत लिई पूर्व तयारी गर्ने । अनिवार्य औषधीको तथा स्वास्थ्य सामग्रीको मौज्दाद दुरुस्त राख्ने ।

३. मेडिकल, स्वास्थ्यकर्मी, वैद्य, एम्बुलेन्स वा सवारी साधन, विषयगत विज्ञ तथा जानकार, मनोविद्, स्वयमसेवक, सेवा निवृत्त सुरक्षाकर्मी सञ्चारकर्मी आदिको लगत राखी आवश्यक पर्दा परिचालन गर्ने ।

४. खाद्यन्नको मौज्दात, करेसाबारी वा तरकारी, पानीको श्रोत, दुध उत्पादनको अवस्था, पसल, व्यवसायीको विवरण सङ्कलन गरी आवश्यक्ताअनुसार होम डेलिभरी यूनिट, आपतकालिन सेवा दस्ता निर्माण गरी तम्तयार राख्ने ।

५. आफ्नो क्षेत्र बाहिरबाट प्रवेश गरेका खासगरी विदेशबाट आएका मानिसको तथ्याङ्क राख्ने, सबै जनताको नियमित रिपोर्ट लिने डेस्क तयार गर्ने र माथिल्लो निकायसँग समन्वय गर्ने ।

६. आफनो क्षेत्रभित्र रहेका स्वास्थ्य, सुरक्षा, शिक्षालगायत सरकारी निकायलाई आवश्यक्ताअनुसार सुरक्षित ढङ्गले परिचालन गर्ने गराउने ।

७. हरेक टोल वा साबिकको वडाको आधारमा यूनिट तयार गरी संयोजक बनाई सबै जानकारी फोनबाट वा सामाजिक सञ्जालमा समूह निर्माण गरी नियमित रुपमा जनप्रतिनिधिले विवरण आदानप्रदान वा सङ्कलन गर्ने गराउने ।

८. सबैलाई सादा शाकाहारी खानपान, सरल व्यायाम तथा योग, आधारभूत घरेलु उपचार विधि, तनावरहित दैनिकी, पारिवारिक मेलमिलाप तथा सौहार्दता, खुशियाली वातावरण, अध्ययन, उपयुक्त विषयमा पारिवारिक छलफल बालक, बृद्धहरूको रेखदेख गर्न प्रेरित गर्ने गराउने ।

९. खत्तम भयो बर्बाद भयो, घाटा भयो, अब सिद्धिने भयो, किन दुःख गर्ने, के रहेछ र जीन्दगी जस्ता भय, डर, निराशा आदि नजगाउने, नसुनाउने सृष्टिमा आएका विनाश र महामारीको इतिहास बुझेर स्वभाविक रुपमालिन र डटेर सामना गर्न प्रेरित गर्ने ।

१०. अहिले कोही कसैको पनि नकारात्मक टिप्पणी, रिस, इष्र्या, इगो, द्वेष, कुण्ठा, बदला, सिकायत जस्ता नकारात्मक भावनाको विकास कसैमा पनि हुन नदिन प्रयास गर्ने । नकारात्मक र निराशावादी भन्दा सकारात्मक र आशावादी भएर दैनिक जीवनयापन गर्ने ।

११. फुर्सद छ भन्दैमा, तास, जुवा, क्यारिम, लुडो, कुस्ती, वल, आदी खेल्ने र सामुहिक भोज, मादक पदार्थ, सामुहिक बसाई, बैठक छलफल, भेला विल्कुल नगर्ने ।

१२. समग्रमा हरेक जनप्रतिनिधिले समाजको नेता तथा असल जिम्मेवार अविभावकको भुमिका निर्वाह गर्ने ।

यी यावत विषयहरू आधारभूत जीवनयापनका विषयहरू हुन् । यहाँ जन प्रतिनिधिहरूलाई आधार बनाएर लेखिए पनि हामी सबैले पालना गर्नुपर्ने विषय हुन् । सबैको व्यवसाय छ, रोजगार छ, जिम्मेवारी छ, सबै तहका सरकारले गरेका काम प्रति प्रतिकृया दिन मन लाग्छ, यी सबै जानकारी रेर्कडमा राखौँ परिस्थिति सामान्य भएपछि मुल्याङ्कनको विषय बनाऔँला अपराधिक कार्य गर्नेलाई दण्डित पनि गरौँला । तर यो समय भए नभएका विषय उछाल्ने सामाजिक सञ्जालमा अफवाह फैलाएर संवेदनशील अवस्थामा रहेको समाज र परिस्थतिलाई निराश र भडकिलो अनि उत्तेजित बनाउने समय होइन । मावन समाजको अस्तित्व माथि नै चुनौती आएको र जनताले सरकारको आदेश मानेर घरभित्र बन्धक बसेको अवस्थामा देश र जनताका लागि क्षति हुने कार्य अर्थात् लोभ, मोह, घमण्ड, दम्भ, शक्तिको दुरुपयोग गर्ने जस्तो अपराधिक कार्य कहिँ कतैबाट साँच्चिकै भएको भए त्यो देशद्रोही कार्य हो र यो समाजको कोरोना भन्दा ठुलो भाइरस हो । जनता होम क्वारेन्टायनबाट निस्कना साथ उसको पतन तथा अवसान निश्चित छ । कृपया धैर्य गरौँ अहिले सबै तहका सरकारलाई काम गरेर देखाउने अवसर प्रदान गरौँ ।
र सच्चा नागरिकको कर्तव्य पालना गरौँ ।

धन्यवाद, नमस्कार !

(गुराँस गाउँपालिका ६ निवाशी विसी नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सदस्य पनि हुनुहुन्छ ।)