थुनुवा फरारबारे छानविन समिती गठन

सुर्खेत, २० चैत (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना थुनुवा रातीको समयमा फरार भएको प्रकरणमा छानबिन शुरू भएको छ ।

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका अभियुक्तहरू फरार भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले प्रहरी उपरीक्षक (एसपी) भोलाबहादुर रावलको संयोजकत्वमा छानबिन समिति गठन गरेको बताउनुभयो ।

समितिको सदस्यमा डीएसपी लोकनाथ तिमिल्सेना, प्रहरी निरीक्षक सुरजबहादुर खड्का, प्रहरी नायब निरीक्षक अम्मर रावत र प्रहरी सहायक निरीक्षक प्रेम शर्मा रहेका छन् ।

चैत १९ गते राति जिल्ला प्रहरी कार्यालय पछाडि तर्फको झ्याल उक्काएर फरार भएका २ जनालाई चैत १६ गते प्रहरीले लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको थियो । वीरेन्द्रनगर–६ का २६ वर्षीया रोशनराज रेग्मीलाई चैत १६ गते प्रहरीले ४ ग्राम १ सय ५० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको थियो ।

त्यसै दिन वीरेन्द्रनगर–६ का २० वर्षीय सुनिल थारुलाई १ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । भेरीगंगा नगरपालिका घर भइ हाल वीरेन्द्रनगर–११ मा बस्दै आइरहेका २१ वर्षका सन्देश केशरा पनि फरार भएका प्रहरीले जनाएको छ ।

२०७६ फागुन २५ गते कशेरालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । यी तीनै जना थुनुवा कक्षबाट फरार भएका थिए । यसैबीच, फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।