मजदुरहरु अलपत्र, जहाँको त्यही राख्ने सरकारी नीति

सुर्खेत, २० चैत (जागरण) । मजदुरी गर्न गएका कर्णाली प्रदेशका विभिन्न जिल्लाका मजदुरहरु ठाउँठाउँमा अलपत्र परेका छन् । भारतबाट घरतर्फ फर्किँदै गरेका र नेपालभित्रका विभिन्न जिल्लाबाट आफ्नो घरतर्फ फर्किँदै गरेकाहरु बीच बाटोमै अलपत्र परेका हुन् ।

नेपाल बाहिरबाट भित्रिँदै गरेकाहरु सीमा क्षेत्रमा अलपत्र परेका छन् । उनिहरुलाई संघ सरकारले जहाँ पुगिएको छ त्यहीँ सुरक्षित बसाल्ने गरी तयार गरेको छ ।

नेपालका विभिन्न ठाउँबाट फर्किँदै गरेकाहरुलाई समेत प्रवेश निषेध गर्दा समस्या भएको छ । कर्णाली प्रदेश सरकारले चैत ७ गते १० दिनभित्र फर्किसक्न निर्देशन दिएको थियो र १० दिन पुग्नासाथ उनिहरु रोकिएका छन् ।

अन्य प्रदेशका जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र दिएर पठाएका भए पनि कर्णाली प्रदेशभित्र प्रवेश गर्न दिइएको छैन । अलपत्र परेकाहरुले क्वारेन्टाइनमा बस्न तयार रहेको बताएका छन् ।

कर्णालीका विभिन्न जिल्लाबाट नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौं, तनहुँ, पर्सालगायतका जिल्लामा काम गर्न गएका मजदुरहरु लकडाउन कारण अलपत्र परेका हुन् ।

यस विषयमा संघिय सरकारको निर्देशनअनुसार जहाँ सम्म नागरिक पुगेका छन् त्यहीँ सुरक्षित तरिकाले बस्ने व्यवस्थापन गरिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जागरणलाई बताउनुभयोे ।