सुर्खेत, २० चैत (जागरण) । कर्णाली प्रदेशमा पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण सुरु भएको छ । विश्वलाई नै त्रसित पारेको कोरोनाको परीक्षण प्रदेश राजधानी सुर्खेतमा पनि सुरु भएको हो ।
यसअघि बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाउने गरिएकोमा आजदेखि सुर्खेतमै परीक्षण सुरु भएको हो । वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कालागाउँमा रहेको कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिनमार्फत् कुनै पनि व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको परीक्षण बाटै थाह हुनेछ ।
मेसिन जडान भएसँगै कोरोनाको परीक्षण पनि सुरु गरिएको कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गतको प्रयोगशालाका इन्चार्ज ओम आचार्यले आजबाटै कोरोनाको परीक्षण थालिएको बताउनुभएको छ ।
सुर्खेतमै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको र परीक्षणको रिपोर्ट पनि अब छिटो आउने आचार्यले बताउनुभएको छ । आज परिक्षण गरिएका चारवटै नमूनामा कोरोना भाइरस नभएको देखिएको छ ।
दैनिक रुपमा १५ देखि २० वटा सम्म नमूना परिक्षण गर्न सकिने कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले जागरणलाई जानकारी दिनुभयो ।
सुर्खेतमा कोरोनाको परीक्षणका लागि संघीय सरकारले विशेषज्ञका रुपमा डाक्टर रामकृष्ण श्रेष्ठलाई पठाएको छ । कोरोना परीक्षण गर्ने उपकरणसँगै प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालाको (सीडीएल) मा कार्यरत श्रेष्ठलाई प्रयोगशाला विज्ञका रुपमा सरकारले सुर्खेत पठाएको हो ।
डाक्टर श्रेष्ठले एक हप्तासम्म प्रदेश अस्पतालका चिकित्सकहरुलाई कोरोना परीक्षण गर्ने तरिका र उपायबारे जानकारी दिनुहुने भएको छ । चीनबाट ल्याइएको कोरोना परीक्षण गर्ने मेसिनसहित अन्य उपकरणहरु सुर्खेत ल्याइएको हो ।