कर्णालीमा पर्याप्त खाद्यान्न मौजदात

पंखबहादुर शाही ।
सुर्खेत, २१ चैत (जागरण) । साढे दुई महिनाभन्दा धेरै समय लकडाउन भए पनि यस पटक कर्णाली प्रदेशमा खाद्यान्नको अभाव नहुने भएको छ । कर्णाली प्रदेशमा प्रयाप्तमात्रामा खाद्यान्न रहेकाले अभाव नहुने भएको हो ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतकाअनुसार अहिले पनि सरकारी तर्फ ४४ हजार र निजीक्षेत्रतर्फ ३२ हजार क्विन्टल गरी ७६ हजार क्विन्टल चामल मौज्दात छ ।

कम्पनीका प्रमुख भिम थापाले कर्णालीमा अनुमानित १८ लाख जनसंख्या रहेको खाद्यान्न करिव साढे २ देखि तीन महिना सम्मलाई पुग्ने बताउनुभयो । थापाले दुर्गम जिल्लामा खाद्य समस्या हुने भएकाले ती जिल्लाहरुका विशेष ध्यान दिइरहेको पनि जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ‘लकडाउन’ कर्णालीका कुनै पनि नागरिकले भोकमरी भोग्न नपर्ने बताउनुभएको छ । उहाँले आम नागरिकलाई अहिले नै आत्तिएर वा हतोत्साहित भएर धेरै खाद्यन्न भण्डारण नगर्न पनि आग्रह गर्नुुभएको छ ।

कर्णालीमा खाद्यान्नको अवस्था र ढुवानीको अवस्थाबारे आज सुर्खेत विमानस्थलमा अनुगमन गर्दै मन्त्री बुढाले यस्तो आग्रह गर्नुभएको हो । कर्णाली प्रदेशका नागरिकलाई कुनै पनि हालतमा खाद्यान्नको अभाव हुन नदिने मन्त्री बुढाको प्रतिवद्धता छ ।

यसैबीच, नेपाल खाद्य संस्थानको अत्यावश्यक खाद्यन्न सामग्री बोकेर तारा एयर हुम्लाको सिमिकोट पुगेको छ । कम्पनीको ट्वीनअटर डीएचसी ६–३०० जहाज करिव १ दशमलव ५ टन खाद्यन्न बोकेर सिमिकोट पुगेको हो ।

नेपालको दुर्गम जिल्ला र सडक यातायातले नछोएको जिल्लामा जहाजबाटै खाद्यन्न पुर्‍याउनु पर्ने बाध्यता छ । तर, लकडाउनका कारण खाद्यान्न पुर्‍याउन कठिनाई परेको थियो ।

सरकारले लकडाउन अवधिभर नियमित आन्तरिक तथा बाह्य उडान रोकेको छ । तर, अत्यावश्यक वस्तुको आपूर्ति, मेडिकल उडान तथा अन्य सेवाका लागि भने चार्टर्ड उडान भइरहेको छ ।