कैलालीसँगको सीमामा सुर्खेतको आवागमन बन्द, लकडाउन थप्न सिफारिस

सुर्खेत, २३ चैत (जागरण) । सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलालीसँग सीमा जोडिएका सुर्खेतका स्थानीय तहरूले आवागमन बन्द गराएका छन् ।

सुर्खेतका चौकुने र बराहताल गाउँपालिका तथा पञ्चपुरी नगरपालिकाले कैलालीसँगको आवातजावत बन्द गर्न झोलुंगे पुल र डुंगासमेत बन्द गरेका छन् ।

कैलालीसँग धेरै जोडिएको चौकुने गाउँपालिका हो । चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गराइएको छ ।

कैलालीसँग जोडिएको भेरी नदीको पुल, चौकुनेबाट कैलालीतर्फको बडीगाउँ जोड्ने कर्णाली नदीको फेरी र डुंगा बन्द गराइएको अध्यक्ष शाहीले जागरणलाई बताउनुभयो ।

चौकुनेको कुमालाबाट कैलालीको सोल्टा जोड्ने पुल पनि बन्द गराइएको छ । सुर्खेत र कैलाली जोड्ने सीमा नाका केउडी–रागामलेखा, मौरीवन–ताम्चा, सोवानचौर–सावा, बगेला–पुण्डन बन्द गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।

चौकुने गाउँपालिकाले कर्णाली नदीमा डुंगाबाट पनि वारपार गर्न बन्देज लगाएको छ भने पौडेर पनि वारपार गर्न नपाइने निर्णय गरेको छ ।

लकडाउन लम्ब्याउन केन्द्र सरकारलाई सिफारिसः
सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । कैलालीका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्षसहित केन्द्र सरकारलाई सिफारिस गरिएको जानकारी दिनुभएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि पर्सी चैत २५ गते सकिँदैछ ।