कर्णाली प्रिमियर लिगः पहिलो खेलमा काठमाण्डौं विजयी

सुर्खेत, ६ जेठ (जागरण) । सुर्खेतमा जारी कर्णालीमै सर्वाधिक पुरस्कार राशीको कर्णाली प्रिमियर लिग (केपिएल) टि–ट्वेण्टी क्रिकेट प्रतियोगिताको आजको पहिलो खेलमा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर विजयी भएको छ ।
वीरेन्द्रनगरस्थित रंगशालामा बिहान भएको खेलमा रोयल राइजिङ्ग क्रिकेट क्लबलाई ८ रनले पराजित गर्दै जित दर्ता गरेको हो ।
टस हारेर पहिले ब्याटिंग गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
खराब सुरुवात गरेको काठमाण्डौले सुरुवाती ५ विकेट मात्र ३२ रनको स्कोरमा गुमाएको थियो। छैठौ विकेटको लागि बिपिन आचार्य र विवेक राना मगरले ७६ रनको साझेदारी गर्दै टिमको स्कोर एक सय रन बनाउनुभयो ।
बिपिनले ५७ रन तथा बिबेकले ४५ रनको इनिङ्गस्मा ३९ बलमा ७ चौका र १ छक्का तथा बिबेकले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गर्नुभयो ।
रोयल राइजिंगका बलर प्रकाश जैसीले ३ विकेट तथा बिबस सिरी र विजय बिस्टले समान २ २ विकेट हात पार्नुभयो ।
१ सय ४१ रनको लक्ष्य पछ्याएको रोयलले पुरा २० ओभर ब्याटिंग गरेपनि ८ विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सक्यो ।
राइजिङ्गका लागि ओपनिङ्ग ब्याट्सम्यान प्रकाश जैसीले सर्वाधिक ५६ रन बनाउने क्रममा ४७ बलमा ९ चौका र १ छक्का प्रहार गरे पनि जितको लागि पर्याप्त हुन सकेन ।
काठमाण्डौंका बलर आदील खानले सर्वाधिक ३ विकेट र संजय बस्नेतले २ विकेट हात पार्नुभयो । खेलको प्लेयर अफ द म्याच बिपिन आचार्य घोषित हुनुभयो ।