कर्णाली प्रदेशमा वडा वडामा एकीकृत टोली बनाइने

सुर्खेत, २३ चैत (जागरण) । कर्णाली प्रदेश सरकारले कोरोनाको संक्रमण रोकथाम तथा प्रतिकार्यका लागि वडास्तरमा एकीकृत टोली बनाउने भएको छ ।

वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकीकृत टीम तयार गरी कोरोना रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउने प्रदेश सरकारको तयारी छ । आज भएको प्रदेशस्तरीय संकट नियन्त्रण केन्द्रको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

बैठकले जनशक्ति व्यवस्थापनको कार्ययोजना बनाई स्वास्थ्यकर्मीको अभावको कारण उपचार सेवा नपुगेको अवस्था आउन नदिने निर्णय पनि गरेको छ । त्यसका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट निर्देशन भए अनुरुप व्यवस्थापन मिलाउने निर्णय भएको छ ।

यसैगरी कर्णाली प्रदेशभित्र प्रवेश गर्ने नाकाहरुमा सुरक्षा व्यवस्थालाई थप कडाई गर्ने र नेपाल सरकारले घोषणा गरेको लकडाउनको व्यवस्थालाई प्रदेश भित्र पूर्णरुपमा कार्यान्वयन गर्ने गराउने निर्णय भएको छ । प्रतिकार्यको योजना तयार गर्नका लागि स्वास्थ्य निर्देशनालयका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिकार्य समूह गठन गर्ने निर्णय भएको छ ।

बैठकको क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा पुगेको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणको तयारीलाई तिव्रता दिन मातहतका निकायलाई निर्देशनसमेत गर्नुभएको छ ।

उहाँले विदेशबाट आएका नागरिक, गर्भवती, बालबालिका र ६० वर्ष माथिका नागरिकको स्वास्थ्य अवस्थालाई विशेष निगरानीमा राख्नसमेत आग्रह गर्नुभयो ।