नेपालभर दुई हजारबढीको नमूना परीक्षण, एक जनालाई सञ्चो

काठमाण्डौँ, २६ चैत (जागरण) । कोरोना भाइरस (कोभिड १९) को आशंकामा नेपालभर अहिलेसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण भएको छ ।

काठमाण्डौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ९ सय ६५ र काठमाण्डौँ बाहिर ४ सय एक जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नमुना परीक्षण गरेकामध्ये ९ जनामा कोरोनाको पुष्टि भएको र ती मध्ये एक जना उपचार पछि निको भइसकेका जनाएको छ । आठ जनाको अहिले उपचार भइरहेको छ ।

अहिले १ सय ३४ जना आइसोलेशनमा उपचाररत रहेका स्वास्थ्य मन्त्तालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरका क्वरेन्टीनमा अहिले ८ हजार ५ सय ८० जना जना रहेका छन् ।