सुर्खेत, २६ चैत (जागरण) । कर्णाली प्रदेशलगायत पश्चिम नेपालका विभिन्न जिल्लामा कोरोना भाइरसविरुद्ध प्रतिकार्यका लागि आवश्यक स्वास्थ्य सामग्रीबारे गुनासो बढेपछि नेपाल सरकारबाट मन्त्रीस्तरको टोली मैदानमा खटिएको छ ।
विभिन्न जिल्लामा स्वास्थ्य सामग्री नपुगेको जस्ता गुनासो बढेसँगै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत स्वास्थ्य सामग्री लिएर आफै मैदानमा खटिनुभएको हो ।
काठमाण्डौँबाट सडक मार्ग भएर गृह जिल्ला फर्कने क्रममा बाँके र नेपाल भारत सिमा क्षेत्र दशगजा क्षेत्रको क्वारेन्टाइनको अनुगमन गर्नुभएका उहाँले त्यहाँको अवस्थाका बारेमा स्वास्थ्यकर्मी र स्थानीय प्रशासनसंग छलफल गर्नुभयो ।
मन्त्री रावतले आज कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिहरुसंग छलफल गर्नुभएका राज्यमन्त्री रावतले वडा नं. ९ स्थित लाटिकोइली स्वास्थ्य चौकी र वडा नं. ११ मा रहेको सहरी स्वास्थ्य क्लिनिकमा आफै पुगेर ल्याइएको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
यसैगरी, भोली बराहताल, पञ्चपुरी र चौकुनेका जनप्रतिनिधिहरुसंग छलफल गर्ने तथा त्यहाँका विभिन्न स्वास्थ्य संस्थाहरुको अनुगमन गर्ने राज्यमन्त्री रावतको योजना छ ।
यसका साथै कर्णाली प्रदेशका दैलेख, जाजरकोट, र सल्यानमा पनि स्वास्थ्य सामग्री पुर्याउने र अनुगमन गर्ने कार्यक्रम रहेको राज्यमन्त्री रावतले बताउनुभयो ।
यसअघि सेनाको स्काई ट्रक मार्फत कर्णाली प्रदेशका लागि स्वास्थ्य सामग्री सुर्खेतमा हस्तान्तरण गर्नुभएका उहाँले देशैभरी जिम्मेवारी भएपनि कर्णालीमा बढी समस्या भएकाले विशेष ध्यान दिएको बताउनुभयो । राज्यमन्त्री रावतले कोरोनाबाट बच्न कर्णाली प्रदेशलाई कुनै पनि किसिमको कमी हुन नदिने बताउनुभएको छ ।