मानव साम्राज्यसँग रिसाएको प्रकृति

(खड्क चन्द)

मानव सभ्यता प्रकृतिको एक उपहार हो । मानव सभ्यताको जननी छ भने त्यो प्रकृति नै हो । प्रकृतिले सवै भन्दा बढी माया गरेर अथाह अवसर दिएको प्राणी हो मानव जाती । मानव जाती र प्रकृतिका बिचमा निकै अन्योन्याश्रीत सम्बन्ध छ । अँझ भनौं प्रकृति र मानव जातीको बिचको सम्बन्ध नङ् र मासुको जस्तै छ । प्रकुति मानव जातीको जीवन रक्षाको कवजको रुपमा रहेको छ । प्रकृतिको काखमा लुडिबुडी गर्दै आएको मानव जाती र सभ्यता विकसित भएको हो । आज आफ्नै कारणले कतै कुनै बेलाको पृथ्वीकै सर्व शक्तीमान मानिएको डाइनोसर विलोप भए जसरी लोप भएर जाने त होइन ? सृष्टिको सर्वज्ञानी प्रणीको उपमा पाएको मानव जाती आफ्नो थोरै अल्पज्ञानको कारण जाती रक्षाको लडाइमा हारेर सकिने त होइन ? प्रकृतिलाई न्याय दिन नपाउँदै आफै अलप हुने त होइन ? अनेकौं खालका प्रश्नहरु उब्जिएर अड्डा जमाउना थालिसकेका छन् ।

मानव सभ्यताको प्रारम्भीक काल देखि नै प्रकृतिमाथी मानिसहरुको दोहोन र हमला भई नै राखेको छ । आफ्नो सभ्यताको प्रारम्भीक चरणमा मानिसहरुले जीवन रक्षाको लागी प्रकतिमाथी हमला गरे । थुप्रै प्रकारका विनासहरु गरे । भित्रभित्रै खोक्रो बनाए । निकै नै दुखाए । तर पनि प्रकृतिले निःशुल्क रुपमा मानव जातीलाई बाँच्ने आधार प्रदान गरी नै रह्यो । मानव सभ्यताको क्रमिक विकास संगै प्रकृति माथिको दोहोन तथा प्रहार पनि निरन्तर रुपमा बढ्दै गयो । न त मानव विकासमा थप नवीन आयामरु थपिने क्रम रोकीयो न त प्रकृति माथी हुने अमानवीय, अप्राकृतिक एवम् क्रुर गतिविधि नै रोकिए । आफ्नो निहित वा सामुहिक स्वार्थ तथा विकासका नाममा दिन प्रतिदिन प्रकृतिमाथी प्रहारहरु हँदै गए । मानिसले आफ्नौ बौद्धिक ज्ञान सीप र क्षमतालाई वहुआयामिक रुपमा प्रयोग गर्दै गए । विकास र समृद्धिका नाममा व्यापक आविस्कार र तिनका लागी अनेकौं अनेक प्रयोगहरु भए । मानविय प्रयोग र विकासको प्रमुख निसानामा प्रकृति परिरह्यो र निरिह भएर रोइरह्यो ।

सुरुमा मानिसले आफु बाँच्नका लागी मात्रै प्रकृतिमाथि दोहोन गर्‍यो , उसले सह्यो । त्यसपछी मनिसले कृषिका नाममा प्रकृतिमाथी हमला गर्‍यो, ऊ सहेर बस्यो, विज्ञान र प्रविधिका नाममा हमला गर्‍यो, प्रकृति सहेरै बस्यो । खानी र खनिज उत्खननका नाममा प्रहार गर्‍यो, ऊ सहेरै बस्यो । शक्ती आर्जन र प्रदर्शनका नाममा विभिन्न परिक्षण र प्रयोग गर्‍यो, प्रकृति सहेर नै बस्यो । मानिसले नै प्रकृतिको संरक्षणका लागी भनेर विभिन्न सन्धी सम्झौताहरु गरे, प्रकृतिलाई जीवन्त राख्छौं भनी कसम खाए र पनि आफ्नो नियतमा रुपान्तरण गरेन र दोहोनको हमलालाई दिन प्रतिदिन बढाउँदै गयो । प्रकृति बचाऊ बचाऊ भन्दै भित्रभित्रै रोई राख्यो तर मानिसले प्रकतिको त्यो रोदन कहिल्यै देखेन र बुझेन पनि । प्रकुति रुँदैन मात्र, अति भएको खण्डमा रिसाउँछ पनि भन्ने कुरा मानव जातीलाई हेक्का रहेन । उसले खाएका कसम भुल्यो, गरेका सम्झौता विर्सियो, प्रकृतिकै कारण आफ्नो जीवनको अस्तित्व रहेको कुरामा चुक्यो, प्रकृति विना म र मेरो जाती रक्षा हुँदैन भन्ने कुरा उसले विर्सियो र मात्र दौडी रह्यो संसार जित्ने होडबाजीमा ।

मान्छेहरु विस्तारै सामाजिक हँदै गए । आफ्नो सामाथ्र्यले भ्याएसम्मका साम्राज्यहरु खडा गर्न थाले । शक्ती सम्पन्न ठुला साम्राज्यहरुले कमजोर र साना साम्राज्यहरुलाई आफ्नो नियन्त्रणमा राख्न खोजे । सो कार्यमा कति सफल भए भने कति असफल । कति मानिसहरु आफ्ना साना साम्राज्यमा सिमित भए भने कतिले निकै नै ठुला साम्राज्य खडा गरेर बसे । विकसको होडबाजीमा लागे । मानिसहरुले विकासका नाममा ठुल्ठुला आविस्कार गरे, बाटाघाटा, सुरुङ, पुल पुलेसा, गाडी मोटर आदीको निर्माण गरे । कलकारखाना तथा उद्योग धन्दा आदिको स्थापना गरे । इन्धन तथा धातुका खानीहरु उत्खनन् गरे । निकै ठुला प्रयोगशाला र परिक्षण केन्द्रहरुको स्थापना गरे । रासायनिक उत्पादन र परिक्षण गरे । आणविक प्रयोग र परिक्षण गरे । विभिन्न प्रकृतिका र क्षमताका क्षप्यास्त्रहरु प्रक्षपण गरे । पृथ्वीको बहन क्षमतामा दिन प्रतिदिन प्रतिकुलताको स्थितिहरु निम्त्याउने खालका गतिविधिहरु गर्नमा निकै नै तम्सीरहे । एक साम्राज्यले अर्को साम्राज्यलाई कमजोर बनाउने, लडाउने मात्रै नभएर आफै पनि कमजोर साम्राज्यमाथी जाइलाग्न थाले । युद्धका नाममा विभिन्न खालका हतियारहरु उत्पादन, परिक्षण र व्यापारमा लागे । कार्वन उत्सर्जन तथा कार्वन व्यापारको सुरुवात गरे । आणविक हतियारको उत्पादन, विष्फोटन तथा व्यापार सुरु गरे । अणु शक्ती आर्जन र प्रदर्शनमा लागे । विभिन्न देशका बिचमा युद्धहरु सुरुवात गरे । परिणामतः प्रथम र दोस्रो भयानक र अकल्पनिय विश्व युद्ध गरे । जसको परिणमस्वरुप मानव जातीमा जति क्षति र असर प¥यो त्यस भन्दा भयावहको असर यस पृथ्वीमा प¥यो । प्राकृतिक सन्तुलनमा ह्रास आयो । वातावरणीय प्रणाली नै प्रतिकूल भयो । मानवीय क्रियाकलाप, उत्पादन परिक्षण र प्रयोगले वातावरणीय, जैविक र पारिस्थितिक प्रणालीमा असर पर्‍यो । प्राकृतिक असन्तुलनको अवस्था सिर्जना भयो । प्रकृतिमाथी परेको दवाव अव थेग्न नसकिने खालको भयो । जसको सुचना प्रकृति आफैले बेलाबेलामा दिने गरेको कुरा मानव जाति आफैले अनुभव गरी विश्लेषण समेत गर्दै आएको छ । मानव जातीलाई थाह छ हामी संग प्रकृती बेस्सरी रिसाएको छ ।

आफ्नै नियम र गतिमा चलायमान अवस्थामा रहेको प्रकृतिलाई जव मानवीय क्रियाकलापले अवरोधहरु सिर्जना गर्न थाले । प्रकृतिको स्वतन्त्रतालाई आफ्नो काबुमा राख्न खोजे । प्रकतिका अवयवहरुलाई पिंजडामा थुन्न थाले । आक्रमणलाई निरन्तरता दिदै प्रकृतिको प्रणालीमा प्रतिकूलताको भयावह सिर्जना गर्न लागिरहे । तत्पश्चात प्रतिकूलताहरु देखा पर्न थालेका छन् । तिनै प्रतिकूलताहरुले आज प्रकृतिलाई मानव सभ्यताविरुद्ध जाइलाग्न बाध्य बनाएका छन् । बेलाबेला प्रकृति आफैले विशिष्ट मानव विद्वत्तालाई झकझकाई राखेको हुन्छ । बोलेर वा लेखेर व्यक्त गर्न नसक्ने भएकोले साना वा ठुला विपद्हरु मार्फत मानव जातीलाई सचेत र चनाखो गराउने कोशिस गरिराखेको हुन्छ । उसका अभिव्यक्तीहरु कुनै सामना गर्न सक्ने खालका हुन्छन् भने कुनै भयानक र सामना गर्नै नसकिने खालका हुन्छन् । प्रकृतिका यस्ता खालका विपद्हरुबाट पार लाग्नका लागि मानिस आफ्नो ज्ञान, सीप, क्षमता र प्रविधिलाई अधिकतम् रुपमा उपयोग गर्दै उपलब्ध साधन र श्रोतलाई परिचालन गर्न उद्दत् रहन्छ । उता प्रकृति रिसायको हुन्छ । ऊ शान्त भएको हँदैन र पनि प्रकृतिमाथीको हमलालाई मानव जातीले नरोकी निरन्तर जारी राख्छ । प्रकृतिमा भएका सबै चिजहरुको उपयोग गर्ने मानिसले ती प्रकृतिका उपजहरुलाई बचाउन र संरक्षण गर्नमा कमै मात्रामा भए पनी ध्यान पु¥याउन नसकेको आभास प्रकृति आफैले महसुस गर्छ र बेलाबेलामा आफ्ना असन्तष्टिहरु विष्फोट गर्ने गर्छ ।

जव मानिसले प्रकृतिमाथी भयाङ्कर प्रहारहरु गर्न थाल्यो अनी अकल्पनीय प्रयोगहरु गर्न थाल्यो प्रतिकुलका घटनाक्रमहरु पनि देखा पर्न थाले र पनि मानिस आफ्नो लालसाबाट पछी हटेन र क्रमिक रुपमा निरन्तरता दिई नै राख्यो । मानिसहरु निरन्तर विकासको होडबाजीमा लागी नै रहे । वनजंगलको दोहोन तथा चोरी निकासीबाट सुरु भएको प्रकृतिमाथीको हमाला रासायनिक परिक्षण, उत्सर्जन हुँदै आंणविक भट्टी स्थापना र आणविक विष्फोटनसम्मको स्थितिमा पुगिसकेका छन् । शक्ती आर्जन र प्रदर्शनका लागी अंणु बम हुदै हाइड्रोजन बमहरुको परिक्षण र विष्फोटमा आजको मानव जाती पुगेको अवस्थाले प्रकृतिमाथीको बढ्दो हमलालाई पुष्टि गर्दछ । आफ्ना साम्राज्यहरु लिया र शक्ती सम्पन्न बनाउने बहानामा प्रकृतिलाई छियाछिया बनाए । परिणमतः वनजंगलको घनत्व निकै नै कम भयो । रासायनिक, आंणविक, तथा अन्य यावत् प्रकारका प्रदुषणले वायुमण्डल ढपक्क ढाकियो । हिमालको हिउँ पग्लियो । डाँडाकाँडाहरु उजाड भए । सामुन्द्रिक सतह बढ्न थाल्यो । जीवको प्रजनन् प्रणालीमा व्यापक फेरबदल भयो । सुगन्धीत प्रकृतिको मझेरीमा दुर्गन्धका डुङ्गुर मिसिए । तीब्र बसाइसराई र बढ्दो सहरीकरणले प्रकृतिलाई नै आक्रान्त बनायो । जैविक तथा पासिस्थितिकीय प्रणालीका आयामहरुमा फेरबदल आउन थाले । पृथ्वीको कवज ओजोनतहमा प्वाल प¥यो । वर्षा र तापक्रममा व्यापक तलमाथीको अवस्था आउन थाल्यो । मुहानहरु सुक्न थाले र विशाल नदीनाला खहरेमा परिणत हुन थाले । कार्वनडाइअक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्वन जस्ता प्रकृतिका सत्रुहरु बढ्दै गए । अनाबृष्टि, अतिबृष्टि र अल्पबृष्टिका अवयवहरु देखिन थाले । एसिड वर्षा हुन थाल्यो । बाढी, पहिरो र भूक्षय जस्ता प्रकोपहरु बढ्न थाले । जलवायू पविर्तनमा व्यापकता आयो । विभिन्न खालका महामारीहरु देखिन थाले । आज मानव जातीका साम्राज्य प्रकृतिसंगका लडाई हार्दैछ र मफी माग्दै जाती रक्षाको लडाई लड्दैछन् ।

प्रकृतिलाई अनुकुलीत अवस्थामा राख्नका लागी विश्व शक्तीका साम्राज्यहरुले विश्व जलवायु सम्मेलन गरे । पृथ्बी सम्मेलन गरे । फेरी सम्झौता गरे । कोप सम्मेलनलाई निरन्तरता दिए । प्रकृतिसंग सम्बन्धित विभिन्न दिवसहरु र बर्षहरु घोषणा गरियो । विभिन्न संगठन, कोष तथा पुरुस्कारहरुको स्थापना गरियो । विभिन्न आन्दोलनहरु भए । राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, सामुदायिक वन, उद्यान आदीका नामले वातावरण र प्रकृतिलाई बचाउने अभियानमा लागे । तर प्रकृति स्वतन्त्र हुन चाहन्थ्यो यसरी खुम्चीएर रहन सक्दैनथ्यो । किनकी उसलाई स्वभावले नै पिंजडामा थुनिएर बस्न दिदैन थियो । विभिन्न सन्धी सम्झौताहरु गरेर तिनको कार्यान्वयन गर्नुपुर्व नै कति शक्ती साम्राज्यहरु पछि हटे र दीगो विकासका मुल्यहरुलाई कुल्चीए । अविकसित र विकाससिल सम्राज्यहरुले जतिको कार्यान्वयनको पहल गरे । त्यतिको विकसित र शक्ती साम्राज्यहरुले चासो दिएनन् । परिणमतः आज तिनै शक्ती केन्द्रका साम्राज्यहरु कोरोनाबाट थिलथिलो भएर गडिरहेका छन् । दिन प्रतिदिन हारिरहेका छन् । अँझ भनौँ एउटा भयानक तेस्रो विश्वयुद्ध हारिरहेका छन् । प्रकृतिलाई गुहारिरहेका छन् । मानविय भावनालाई पुकारिरहेका छन् । हिजो प्रकृतिले न्याय माग्यो । निकै नै हारगरहार गर्‍यो । तर ती शक्तीले मात्तिएका मानव साम्राज्यका नाइकेहरुले सुनेनन् आज प्रकृतिले सुनिदिएको छैन । अन्यायको क्षतिपुर्ती माग्दै निकै नै रिसाएको छ । प्रकृति कतिबेला र कसरी शान्त हुने हो कुनै निश्चितता छैन । मानव जाती आज आफैले खनेको खाल्डोमा परेर जाती रक्षाको लडाइमा आकुल व्याकुल भएर लडिरहेको प्रकृतिले नजिकै बाट हेरिरहेको छ । उसलाई लागेको छ कि मानव जातीले आफुमाथी गरेको अन्याय र अत्याचारको सजाए पुगेकै छैन । जव प्रकृतिलाई सजाय पुरा भएको आभाश हुनेछ ऊ आफै शान्त, निकै शान्त हुनेछ । त्यसैले प्रकृति रोएको छ, प्रकृति रिसाएको छ ।

(लेखक चन्द चौकुने गाउँपालिका वडानम्वर ९ सुर्खेतमा वडा सचिवको रुपमा कार्यरत हुनुहुन्छ ।)