सुर्खेत, २८ चैत (जागरण) । कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा अहिले सम्म एक करोड रुपैयाँ जम्मा भएको छ ।
चैत दोस्रो हप्तादेखि स्थापना गरी सञ्चालन गरिएको विपद् व्यवस्थापन कोषमा विभिन्न वित्तिय संघसंस्था, समूह तथा सामाजिक संस्थाहरुको तर्फबाट एक करोड रुपैयाँ जम्मा भएको हो ।
विश्वभर महामारीका रुपमा फैलिएको ‘कोभिड–१९’ अर्थात् कोरोना भाइरस रोकथाम तथा प्रतिकार्यका निम्ति प्रदेश सरकारले स्थापना गरेको हो ।
कोषमा प्रायः बैँक तथा वित्तिय संस्थाहरुले सहयोग रकम जम्मा गरेका कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जागरणलाई जानकारी दिनुभयो । उहाँकाअनुसार जम्मा भएको रकम स्थानिय तहमार्फत् कार्यान्वयन गर्ने तयारी छ ।
कोषमा नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, सिटीजन्स बैंक लिमिटेड, सिद्धार्थ वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सिद्धार्थ संचार सहकारी संस्था लिमिटेडले रकम जम्मा गरेका छन् ।
यसैगरी, कोषमा लगनशील महिला लघुउद्यमी सहकारी संस्था लिमिटेड, बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, राष्ट्रिय अपाँंग महासंघ, कर्णाली प्रदेश, नेपाल मगर संघ सुर्खेत, सिद्धार्थ नेशनल एकेडेमी तथा दैलेखका व्यवसायी पदमबहादुर विश्वकर्माले पनि रकम जम्मा गरेका छन् । प्रदेश सरकारकाअनुसार कोषमा रकम जम्मा हुने क्रम अझै जारी छ ।