विद्यार्थीहरुको पढाई प्रभावित हुन नदिन अनलाईन कक्षा संचालन

सुर्खेत, २९ चैत (जागरण) । सुर्खेतमा रहेको चिल्ड्रेन्स प्याराडाइज मावीले अनलाइन कक्षा संचालन गरेको छ ।
लकडाउनका कारण विद्यार्थीहरुको पढाई प्रभावित हुन नदिने भन्दै उक्त मावीले अनलाइन कक्षा संचालन गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारण देश अहिले लक डाउनमा छ । सबै शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द छन् । तर विद्यार्थीहरुको पढाईमा ध्यान केन्द्रीत गर्न भन्दै अनलाइन कक्षाबाट पठनपाठन शुरु गरिएको विद्यालयका प्रवन्ध संचालक यदु प्रसाद ज्ञवालीले बताउनुभयो ।
लक डाउनका कारण विद्यार्थीहरुको पठनपाठनमा आउन सक्ने समस्यालाई ध्यानमा राख्दै एप संचालनमा ल्याइएको ज्ञवालीले बताउनुभयो ।
यो प्रविधिमा ‘जुम क्लाउड मिटिङ’ एप्स डाउनलोड प्रयोग गर्ने गरिएको छ । यसमा विद्यार्थीका अभिभावकको सहायतामा एप्स डाउनलोड गरिन्छ । त्यसपछि शिक्षकले एप्सको नेटवर्कमा आवद्ध हुनको लागि आइडी नम्बर दिन्छन् । सोही आइडी नम्बरबाट आ–आफ्नो घरमा रहेका शिक्षक र विद्यार्थी जोडिने गर्छन् । अनलाइनमार्फत एउटा कक्षा ४० मिनेटससम्म चल्ने गरेको उहाले बताउनुभयो । प्रत्येक विषय पढाउँदा विद्यार्थीलाई फरक–फरक आइडी दिने गरिन्छ । बिहान ९ बजेदेखि ११ बजेसम्म दुईवटा र दिउँसो ३ बजेदेखि तीनवटा विषय पढाउने गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।
यता, विद्यालयको पठनपाठन रोकिरहेका बेला विद्यालयले अनलाइन कक्षा संचालन गरेपछि विद्यार्थीहरुसँगै अविभावकहरुले खुशी व्यक्त गरेका छन् ।
उक्त विद्यालयमा कक्षा ९मा अध्यनरत दैलेखका भरत थापाले विद्यालय खुल्ने अनिश्चित भइरहेका बेला अनलाइनबाट पढ्न पाउदा खाली समय सदुपयोगसँगै पढाईमा हुने भार पनि कम भएको प्रतिक्रिया दिनुभयो । विद्यार्थीलाई मंगलबारदेखि अनलाइनबाटै पढाइरहेको ज्ञावलीले बताउनुभयो ।
लकडाउनमा विद्यार्थीहरुको पठपाठनलाई ध्यान दिदै चिल्ड्रेन्सले शुरु गरेको अनलाइन कक्षाको सिको अन्य विद्यालयले पनि गर्नुपर्ने शिक्षासँग सरोकार राख्ने व्यक्तीहरु बताउछन् ।