कर्णालीका दुई ठाउँबाट एकै दिन दुई सय बढी घर फिर्ता

सुर्खेत, २९ चैत (जागरण) । कर्णाली प्रदेशका विभिन्न दुई क्वारेन्टाइनबाट आज दुई सय २९ जनालाई घर फिर्ता पठाइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित क्वारेन्टाइनबाट एक सय ८३ र सिम्ता गाउँपालिका सुर्खेतको राकमस्थित क्वारेन्टाइनबाट ४६ जनालाई घर फर्किइएको हो ।

विदेशबाट कर्णाली प्रदेशका विभिन्न जिल्लास्थित आफ्नो घर तर्फ फर्किएका १ सय ८८ जनालाई वीरेन्द्रनगरको क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा रहेका १ सय ८३ जनाको कोरोनाको नमूना परीक्षण गरिएकोमा कसैलाई पनि कोरोना नभएको पाइएसँगै घर पठाइएको छ । क्वारेन्टाइनमा रहेकामध्य अरु पाँच जनाको रिपोर्ट भने आउन बाँकी छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्लेले कर्णाली सरकारको समग्र व्यवस्थापनमा क्वारेन्टाइनमा रहेकाहरु १४ दिन पूरा गरी घर फर्किएका बताउनुभयो ।

क्वारेन्टाइनमा बसेर घर जानेहरुलाई घरमा पुगेर पनि अनिवार्य रुपमा एक हप्ता होम क्वारेन्टाइनमै बस्नुपर्ने उहाँले बताउनुभयो । उहाँकाअनुसार क्वारेन्टाइनमा बसेकाहरुका लागि घर पु¥याउन यातायातको व्यवस्थापन पनि प्रदेश सरकारले नै मिलाएको छ ।

घर पुर्‍याउनका लागि जुम्लातर्फ एउटा, दैलेखका लागि २ वटा, जाजरकोट सम्मका लागि एउटा र सुर्खेतकै लागि एउटा गाडीको व्यवस्था गरिएको छ ।

सुर्खेत जिल्लाभित्रकै तर नजिकको दूरीमा रहेका १७ जनालाई घर पठाइसकिएको छ । गाडीमा पठाउनेहरुमा २० जना जाजरकोटका, १९ जना पूर्वी सुर्खेतका, १० जना पश्चिम सुर्खेतका, ८७ जना दैलेखका, ७ जना कालिकोटका, १६ जना जुम्लाका र एक जना अछामका रहेका छन् ।

क्वारेन्टाइनमा रहेका १ सय ८८ जना मध्ये १ सय ७९ जना पुरुष र ९ जना महिला थिए । क्वारेन्टाइनमा बसेर घर जाँदा ढुक्क भएको घर फर्किँदै गरेकाहरुले बताएका छन् ।

यसैबीच, कर्णाली प्रदेशका स्थानिय तहहरुमध्ये नमूना परीक्षण गर्ने पहिलो तह बनेको सुर्खेतको सिम्ता गाउँपालिकाले एक सय ५२ जनामध्ये ४६ जनाको रिपोर्टमा कोरोना भाइरस नदेखिएपछि घर फिर्ता गरेको छ । वागेश्वरी माध्यमिक विद्यालय राकमस्थित क्वारेन्टाइनमा ¥यापिट टेष्ट गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिनुभयो ।