कोरोनाको कहरभित्र नयाँ वर्ष

काठमाण्डौँ, १ वैशाख (जागरण) । आज विक्रम सम्वत २०७७ को पहिलो दिन । नयाँ वर्ष २०७७ साल आजदेखि शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउने चलन छ । तर यसपाली विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरसका कारण नेपाल बन्दाबन्दीको अवस्थामा छ ।

सँधैका नयाँ वर्षजस्तो हर्षोल्लास भने छैन । नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, दलका प्रमुखहरु तथा कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाह र मन्त्रीहरुले शुभकामना दिएका छन् । नयाँ वर्ष प्रारम्भको अवसरमा हाम्रो तर्फबाट तपाइलाई पनि शुभकामना छ ।