कर्णालीमा कोरोना संक्रमण शून्य

सुर्खेत, ६ वैशाख (जागरण) । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको संक्रमण शून्य अवस्थामा रहेको छ । देशका विभिन्न जिल्लाका नागरिकमा कोरोना भाइरसको संक्रमण फैलिएको जानकारी सार्वजनिक भइरहेको बेला कर्णालीमा भने कोरोनाको संक्रमण फेला नपरेको हो ।

प्रदेशका १० वटै जिल्लामा कोरोना भाइरस परीक्षण गरिएकोमा कुनै पनि संक्रमण नभेटिएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनायले जनाएको छ ।

जाजरकोटमा गरिएको कोरोनाको द्रुत परीक्षणबाट २ सय ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । र्‍यापिड टेष्ट विधिबाट चार वटा पालिकामा कोरोनाको द्रुत परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो ।

बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकामा गरिएको परीक्षणमा २ सय ३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । भारतलगायत अन्य मुलुकबाट आएकाका र्‍यापिड टेष्टमार्फत परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।

यस्तै, कालिकोटमा कोरोना भाइरस संक्रमितको खोजीमा स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा परिचालन भएको छ । भारत लगायतका विदेशबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा परिचालन भएको हो ।

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार टोलीले आजसम्म कालिकोटका विभिन्न स्थानीय तहमा गरी १ सय ५२ जना विदेशबाट फर्किएका व्यक्तिको र्‍यापिड टेस्ट गरेको छ ।

यता, दैलेखको आठबिस नगरपालिकाको क्वारेन्टाइनमा बसेका ८४ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पनि नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेख र विभिन्न पालिकाहरूमा एक सय १३ जनामा टेस्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका खोप प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

दैलेखका विभिन्न सातवटा पालिकाहरूबाट ८८ वटा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको भए पनि ४६ वटाको रिपोर्ट नेगेटिभ आएको र ५१ जनाको रिपोर्ट आउन बाँकी नै छ ।

यस्तै, हुम्लाका चार गाउँपालिकाका ६८ जना र्‍यापिड टेस्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार सिमकोट गाउँपालिकामा २९, नाम्खा गाउँपालिकामा २५, ताजाकोट गाउँपालिकामा आठ र अदानचुली गाउँपालिकामा ६ गरी ६८ जनाको द्रुत परीक्षण गरिएको छ ।