कोरोना रोकथाम र परीक्षणको दायरा बढाउन अधिकारकर्मीहरुको सुझाव

सुर्खेत, ८ वैशाख (जागरण) । बालअधिकारका क्षेत्रमा काम गर्ने कर्णाली प्रदेशका अधिकारकर्मीहरुले कोरोना भाइरस रोकथाम तथा परीक्षणको दायरा बढाउन सुझाव दिएका छन् । बालअधिकारका लागि कर्णाली प्रदेशस्तरीय नागरिक सञ्जालले कोरोना भाइरस रोकथाम तथा परीक्षणको दायरा बढाउन सुझाव दिएको हो ।

सञ्जालले आज एक १९ बुँदे अपिल सार्वजनिक गर्दै तीन ओटै तहका सरकारले हाल सम्म गरेका कामहरुलाई निरन्तरता दिन र परिक्षणको दायरालाई अझै फराकिलो र विश्वसनिय बनाउन आग्रह गरेको छ ।

सञ्जालले कर्णाली प्रदेशमा रहेको कोरोना परिक्षण गर्ने मेसिन बिग्रिएको तथा कम क्षमताको भएकाले अविलम्ब मर्मत संभार गर्न र ठुलो क्षमताको मेसिन जडान गर्नुपर्ने बताएको छ ।

यस्तै स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने गुणस्तरीय स्वास्थ्य सामग्रीहरु समयमा उपलब्ध गराउन, लकडाउन, क्वारेन्टाइन तथा आईसोलेसनमा सरकारले जारी गरेको मापदण्डलाई पालना गराउन पनि अपील गरिएको सञ्जालका प्रदेश संयोजक टीकाराम आचार्यले जागरणलाई बताउनुभयो ।

सञ्जालले जारी गरेको अपिलमा घरमा बालमैत्री वातावरण, बालबालीका तथा किशोरकिशोरहरुलाई विषेश ध्यान दिई संरक्षण प्रदान गर्न, हिंसारहित पारिवारिक तथा सामाजिक वातावरण सिर्जना गर्न, राहत वितरण प्रक्रियालाई वैज्ञानिक, पारदर्शी र जवाफदेही बनाउँदै एकद्धार प्रर्णाली मार्फत वितरण गर्न लगायतका कुराहरुलाई अझै संवेदनशिल भयर लाग्न तीनओटै तहका सरकारलाई आग्रह समेत गरेको छ । संयोजक आचार्यले लकडाउनलाई बोझको रुपमा नलिन पनि आग्रह गर्नुभयो ।