सुर्खेत, ८ वैशाख (जागरण) । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण जनजीवन प्रभावित भएपछि अब सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले घरमै खाद्यान्न पुर्याउने भएको छ ।
आफ्नै घरमा, कोठाभाडामा वा पैदल हिडेर वीरेन्द्रनगर पुग्नेहरुलाई खाद्यान्न अभाव भए नगरपालिकाको पैसा नलाग्ने टेलिफोन नम्बर १०१ मा फोन गरी समस्या दर्शाएमा नगरको टोली सम्बन्धीत स्थानमा खाद्यान्न पुर्याउने नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जागरणलाई बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आजदेखि पैसा नलाग्ने नम्बर दिएर नयाँ कामको सुरुवात गरेको छ । नगरपालिकाले आफनो क्षेत्रभित्र लकडाउन पश्चात खाद्य अभावको कारणले कोही भोकै बस्नु नपरोस भनेर निःशुल्क टेलिफोन नम्बर दिइएको वीरेन्द्रनगर नगरपालिकाको भनाई छ ।
वीरेन्द्रनगरमा बस्ने स्थायी तथा अस्थायी न्यूनआयस्रोत भएका करिव १५ हजार परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको समेत जनाइएको छ ।
यसैबीच, नेपाल स्टेशनरी तथा पुस्तक व्यवसायी संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । आज संघका अध्यक्ष सागर भुषालले नगरपालिकाका उप–प्रमुख ढकाललाई नगद ५१ हजार एक सय ५१ रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
संघले आफ्ना सदस्यहरुबाट रकम संकलन गरेर राहत कोषलाई दिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिकाले थालेको अभियानमा सहयोग पुगोस् भनेर रकम संकलन गरेर हस्तान्तरण गरिएको अध्यक्ष भुषालले बताउनुभएको छ ।