कोरोनाको जोखिम अन्त्यका लागि लाग्छौँः जिल्ला समन्वय प्रमुखहरु

सुर्खेत, ८ वैशाख (जागरण) । कर्णाली प्रदेशभित्रका जिल्ला समन्वय प्रमुखहरुले कोरोना भाइरसको जोखिम अन्त्य गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आज भिडियो संवाद गर्दै प्रदेशका १० वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनिहरुले यो भाइरस रोकथाम तथा प्रतिकार्यका लागि सवै तहका सरकार गम्भिरताका साथ लाग्नुपर्ने बताएका छन् । भिडियो संवादमा मुख्यमन्त्री शाहीले स्थानीय तहले कोरोना भाइरसको प्रतिकार्यका लागि गरिरहेका प्रयास प्रशंसनीय रहेको बताउदै जिल्ला समन्वय समितिले आफ्नो जिल्लाका स्थानीय तहबीच समन्वय गरी त्यहाँको आवश्यकताको बारेमा प्रदेश सरकारलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

एकतावद्ध रुपमा कोरोना संकटका विरुद्ध सामुहिक रुपमा लड्नु नै अहिलेको मुख्य काम भएको बताउदै मुख्यमन्त्री शाहीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकिकृत टीम तयार गरी कोरोना प्रतिकार्यमा लाग्न आग्रह गर्नुभयो ।

महामारीको अवस्था उत्पन्न भए पनि नागरिकको जीउँ तल÷माथि नहुनेगरी अहिले नै वडास्तर सम्मको तयारी गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताउनुभयो ।

प्रदेश सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका लागि आवश्यक व्यवस्था गरिरहेको बताउदै मुख्यमन्त्री शाहीले स्थानीय तहका लागि आवश्यक वजेट, स्वास्थ्य सामग्री तथा अत्यावश्यक खाद्यवस्तुको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।