सुर्खेत, १० वैशाख (जागरण) । कृषि क्षेत्रमा परिरहेको असर समाधान गर्न कर्णाली प्रदेश सरकारले सहजिकरण गर्ने भएको छ । प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै कृषकहरुले भोग्नुपरेको समस्या समाधानमा पहल गरिने जनाएको हो ।
मन्त्रालयले कृषिजन्य उत्पादन, विउविजन आपुर्ती र बजारीकरणका लागि सहजिकरण गर्न कृषि विकास निर्देशनालय र पशुपंक्षी जन्यतर्फ पशुपंक्षी विकास निर्देशनालयलाई जिम्मेवारी दिइएको जनाएको छ ।
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो । मन्त्रालयले पशुपंक्षी क्षेत्रअन्तर्गत कुखुरा, अण्डा तथा दुधको लागत मुल्य तथा विक्री मुल्य एकिन गर्न मन्त्रालयबाट गठित कार्यदललाई र पशुपंक्षीतर्फ बजारीकरणको सहजिकरण गर्न पशुपंक्षी विकास निर्देशनालयलाई जिम्मेवारी दिने निर्णय गरेको पनि जनाएको छ ।
यस्तै अत्यावश्यक उत्पादान बजारीकरण तथा ढुवानी सम्बन्धी बजारीकरण गर्न पनि कृषि विकास निर्देशनालयलाई जिम्मा दिएको छ भने पशुपंक्षी विकास निर्देशनालयले कृषकको समस्या समाधान गर्न एउटा एउटा गाडी व्यवस्थापन गर्ने भएको छ ।
कृषि मन्त्रालयका प्रवक्ता तथा निमित्त सचिव हरी पण्डितले पशुपंक्षी विकास निर्देशनालयले जिल्ला स्तरका कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषकहरुको समस्या समाधान गर्ने जानकारी दिनुभयो ।
उहाँकाअनुसार आवश्यक परेमा कृषकहरुले सिधै सम्पर्क समेत गर्न सक्नुहुने छ । त्यसका लागि पशुपंक्षी तर्फ पशुपंक्षी विकास निर्देशनालयका सुचना अधिकारी मोहन गिरीको सम्पर्क नम्बर ९८५८०५१५९४ र कृषि तर्फ कृषि विकास निर्देशनालयका वाली विकास अधिकृत यामबहादुर रानाको ९८५८०५१९४५ मा सम्पर्क गरेर आफ्नो समस्या राख्नसक्ने छन् ।