सुर्खेत, ११ वैशाख (जागरण) । कर्णाली प्रदेशमा कम क्षमताको मेसिनबाट कोरोना भाइरस परीक्षण गर्नुपर्ने बाध्यता अब हट्ने भएको छ । कम क्षमताको रियल टाइम–पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर) मेसिनबाट काम गरिरहेको अवस्थालाई चिर्दै अव ठूलो क्षमताको मेसिनबाट काम गरिने भएको हो ।
ठूलो क्षमताको मेसिन नहुँदा कोरोना भाइरसको नमूना परीक्षणका लागि स्वाबको बाहिर पठाउनुपर्ने बाध्यता थियो । कर्णाली प्रदेश सरकार र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरी वटा मेसिन खरिद भएका छन् । प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयसँग रहेको नयाँ मेसिन र प्रतिष्ठानले चीनबाट मेसिन खरिद गरेको हो ।
पिसीआर मेसिनले एक पटकमा ९६ वटा सम्म परीक्षण गर्ने प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डाक्टर डम्बर खड्काले जागरणलाई जानकारी दिनुभयो ।
प्रदेश सरकारले खरिद गरेको मेसिन सुर्खेतस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा र प्रतिष्ठानले खरिद गरेको मेसिन जुम्लास्थित शिक्षण अस्पतालको प्रयोगशालामा राखिने छ ।
संघीय सरकारले चैत तेस्रो हप्ता पठाएको हालको मेसिनले भने एक दिनमा बढीमा २० वटामात्र नमूना परीक्षण गर्न सक्छ । त्यही कारण कर्णालीमा संकलित स्वाबका नमुना काठमाडौं र कैलाली पठाउने गरिएको छ ।
जुम्लामा पर्याप्त जनशक्ति भए पनि मेसिन अभावमा परीक्षण हुन सकेको थिएन । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले मेसिन आएसँगै स्वाब संकलन तथा परीक्षणको लागि आवश्यक पर्ने ५ सयवटा किट पनि माग गरिएको बताउनुभएको छ । उहाँका अनुसार मेसिन र प्रयोगशालामा जुम्लाका साथै कालीकोट, मुगु, हुम्ला र डोल्पाबाट संकलित स्वाब परीक्षण गरिनेछन् ।