बाहिरी प्रदेशका नागरिकलाई घर फर्काउन पहल गर्दै कर्णाली सरकार

सुर्खेत, १३ वैशाख (जागरण) । कामको सिलसिलामा कर्णाली प्रदेशमा रहेका बाहिरी प्रदेशका नागरिकलाई घर फर्काउन पहल गरिने भएको छ ।

प्रदेश सरकारले अस्थायी रुपमा कर्णालीमा बसोबास गरिरहेका, लकडाउनको कारण समस्यामा रहेका घर फर्कन चाहने विद्यार्थी, मजदुरलगायतलाई सम्वन्धित प्रदेश, जिल्ला, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा घर फर्कन दिइने भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरी कोरोना परिक्षण तथा नियन्त्रण कार्यका लागि सम्वन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वंसेवकहरुको एकिकृत प्रतिकार्य समुह परिचालन गरिँदैछ ।

स्वास्थ्यकर्मीसहितको एकिकृत समुहले स्थानीय तहमा रहेका क्वारेन्टाइन र कोरोना भाइरसको सम्भावित संक्रमितहरुमा कोरोना परिक्षण, परामर्श तथा स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाउने प्रदेश सरकारले जनाएको छ ।

बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पछिल्लो समय प्रदेशमा भित्रिएका नागरिकहरुलाई केन्द्रीत गरी कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९) को परिक्षणलाई तिव्र र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

शाहीले लकडाउनले समस्यामा परेका कारण उद्दार गरी गाउँसम्म पुगेका मजदुर तथा विद्यार्थीहरुबाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परिक्षणलाई तिव्रता दिन जरुरी रहेको बताउनुभयो ।

कोरोना परिक्षणका लागि आवश्यक र्‍यापिड टेस्ट कीटलगायतका सामग्रीको तत्काल आपुर्ती व्यवस्था मिलाउन मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयलाई निर्देशन पनि दिनुभएको छ ।

उहाँले संघीय सरकारबाट प्राप्त हुन सक्ने अवस्था भएमा तत्काल माग गर्न र आपुर्ती हुन नसक्ने अवस्थामा आफै खरिद गरेर भएपनि परिक्षणका लागि आवश्यक सामग्री व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

कोरोनाको जोखिम क्षेत्र पुर्वी तराई र भारतबाट भित्रिएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो ।