कर्णालीमा रेडियोबाटै पठनपाठन शुरु, एसईई अव कहिले ?

सुर्खेत, १४ वैशाख (जागरण) । कोरोना भाइरसको महामारीबाट उत्पन्न परिस्थितिका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिन नपाएका कर्णाली प्रदेशका विद्यार्थीका लागि विभिन्न सामुदायिक रेडियोहरुबाट पठनपाठन शुरु गरिएको छ । लकडाउनका कारण विद्यालय पनि बन्द रहेका र व्यक्ती–व्यक्तीबीचको दूरी पनि कायम राख्नुपर्ने भएकाले रेडियो मार्फत् पठनपाठन शुरु गरिएको हो ।

आफ्नो स्थापनाकाल २०६५ सालदेखि नै तत्कालिन मध्यपश्चिमाञ्चलमा पहिलो पटक एसएलसी सहयोग रेडियो कक्षा सञ्चालन गरेको जागरण एफएममार्फत् कर्णाली प्रदेशका विभिन्न सामुदायिक रेडियोले नेपाल शिक्षक महासंघ सुर्खेतसँगको सहकार्यमा यो कक्षा प्रशारण गर्न थालेका हुन् ।

विगतमा पुसदेखि फागुनसम्म तीन महिना रेडियो कक्षा चलाउने गरिएकोमा यो विपद्को बेलामा समेत विद्यार्थीको ध्यान पठनपाठनमा केन्द्रित गराउन रेडियो कक्षा सञ्चालन गरिएको जागरण एफ. एम. का स्टेशन म्यानेजर दीपेन्द्र ओलीले जानकारी दिनुभयो ।

समुदायिक विकास र हितको लागि समुदायकै व्यक्तीहरुद्वारा सामुदायिक रेडियोहरु सञ्चालन गर्ने गरिएको बताउँदै जागरण एफ. एम. सञ्चालक समितिका अध्यक्ष पूर्णप्रसाद पौडेलले विपद्को मात्रै नभई आगामी दिनमासमेत अन्य कक्षा प्रशारण गर्ने तयारी रहेको बताउनुभएको छ ।

हाल अवको एक महिना अनिवार्य विषयहरु अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषय अध्यापन हुनेछन् । जसमा १२ जना शिक्षकहरु आवद्ध हुनुहन्छ ।

यसैगरी दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, मुगुलगायतका जिल्लामासमेत रेडियो कक्षा प्रशारणमा छन् । शिक्षा विकास निर्देशनालयका अनुसार यसपाली कर्णालीका ३६ हजार दुई सय ९९ जना विद्यार्थी एसइईमा सहभागी हुने छन् ।

रेडियो कक्षा प्रशारण शुरु भएकोमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, राष्ट्रिय परीक्षा बोर्डका कर्णाली प्रदेश प्रमुख जीतबहादुर शाह, सामाजिक विकास मन्त्रालयअन्तर्गत शैक्षिक कलष्टरको कर्णाली प्रदेश संयोजक विष्णु अधिकारी, शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक दीपा हमाल, सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा समूहका सहसंयोजक तथा सेभ द चिल्डे«न सुर्खेतका शिक्षा म्यानेजर आत्माराम भट्टराई, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवेन्द्र अधिकारी, सुर्खेत जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, शिक्षा विकास समन्वय इकाई सुर्खेतका प्रमुख नारायण पौडेल, शिक्षा शाखा वीरेन्द्रनगरका प्रमुख ललितविक्रमण सिंहलगायतले शुभकामना व्यक्त गरेका छन् ।

एसईई अव कहिले ?

स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षा लकडाउन अर्थात् बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई हप्तापछि सञ्चालन हुने गरी तयारी भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिनुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई)ले परीक्षाका विषयमा आज गरेको भिडियो छलफलमा सचिव दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने उल्लेख गर्नुभयो ।