कर्णालीमा लकडाउनले रोकिएका विकासका काम सुचारु हुँदै

सुर्खेत, १८ वैशाख (जागरण) । कर्णाली प्रदेशमा लकडाउन घोषणापछि रोकिएका विकास निर्माणका कामहरु सुचारु गर्न थालिएको छ । कर्णाली प्रदेश सरकार तथा स्थानिय वा संघिय सरकारबाट निर्माण गर्नुपर्ने भौतिक पूर्वाधार विकास निर्माणका कामलाई सुचारु गर्न थालिएको हो ।

प्रदेश सरकार र केही स्थानिय तहहरुले काममा संलग्न व्यक्तीहरुबीचको दूरी कायम गर्नेगरी प्रशासनबाट अनुमति लिएर काम अघि बढाउन सकिने निर्णय गरेसँगै सहज भएको हो ।

विशेषगरी मेसिनमार्फत गर्न सकिने कामहरु अघि बढेका प्रदेश सरकारले जनाएको छ । कतिपय निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले प्राविधिकतर्फका काम गर्ने व्यक्तीहरुलाई कार्यस्थलमा पठाउने तयारी गरेका छन् ।

कतिपय जिल्लामा काम सुचारु भइसकेको र कतिपयमा भने तयारीमात्रै गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जागरणलाई जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले यसअघिको मन्त्रीपरिषद् बैठकमार्फत् मेसिनबाट गर्न सकिने र कम व्यक्तीकको संलग्नताबाट गर्न सकिने काम सुचारु गर्ने निर्णय गरेको थियो । अहिले विषेशगरी सडक निर्माणका कामको निर्माण कार्य अघि बढाउन थालिएको छ ।

यसैबीच, केही समय स्थगित गरिएको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको काम सञ्चालन गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका चिप्लेस्थित आयोजनाको ड्याम निर्माण, सुरुङमार्गमा फिनिसिङ गर्नेजस्ता कामलाई निरन्तरता दिइएको छ ।

आयोजनामा दोस्रो प्याकेजअन्तर्गत् बाँध र विद्युतगृह निर्माणको ठेक्का पाएको रमण ग्वाङ्डोङ जेभीले कफर ड्यामसँगै क्याम्प निर्माणको काम गरिरहेको छ ।

करिव ८० जना व्यक्ती निर्माणमा संलग्न छन् । लकडाउनका कारण कच्चापदार्थको अभाव हुन नदिन स्थानीय प्रशासनसँगको सहकार्यमा आपूर्ति भइरहेको आयोजनाका सूचना अधिकारी कृष्ण उपाध्यायले बताउनुभयो ।

भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा र्पुयाउने र ४८ मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित आयोजना सुरु गरिएको हो ।