सम्झनामा बहुदलः कसरी भएँ म कम्निष्ट ?

बेद प्रकाश ढकाल

वि. सं. २०४६ साल चैत्र २६ गते नेपालमा प्रजातन्त्रको पुनर्बहाली भयो । संयुक्त जनआन्दोलनको भरमा २०१७ सालमा गुमाएको प्रजातन्त्र पुनः प्राप्त गरेको खुसीमा उत्सब मनाइयो । काठमाण्डौँ उपत्यकामा २६ गते राती देखि नै भने (अन्यत्र २७ गते) जे होस् काठमाण्डौँमा पनि औपचारिक रुपमा जुलुशसहित २७ गते नै विजय उत्सब मनाइयो । संयुक्त वाममोर्चा र नेपाली कांग्रेसले नागरिक समाज समेतको सहयोगमा प्रजातन्त्रको पुनर्बहाली गर्न सफल भएको उक्त खुशीयाली देशभर मनाइयो । मलाइ याद छ म त्यतिबेला ८ बर्षको थिएँ, कक्षा २ मा पढ्थें । हाम्रो स्कुलमा पनि केही दाइहरुको नेतृत्वमा जुलुश निकालियो । हामी केटाकेटीहरुलाई पनि जुलुसमा हिंड्न लगाए दाइहरुले । हुन त पहिले पनि राजा-रानीको जन्मोत्सवमा जुलुसमा हिंडाउँथे हामीलाई । तर उक्त दिनको जुलुश अलि भिन्न र खुशीले भरपुर थियो । अबिर टिको छर्दै मेहेली-खलाकाटे एक फन्को लगायो जुलुशले । पहिलेका जुलुसमा पंचायती ब्यबस्था अमर रहोस् भन्न लगाइन्थ्यो, मैले सोझै उक्त दिनमा पनि अमर रहोस् नै भनिरहेको थिएँ । पछाडिबाट एक जना दाइले टाउकोमा प्याट्ट हान्दै “ए फुच्चे मुर्दाबाद भन्” भने, म एकछिन अलमल्ल परें अलिअली रिस पनि उठ्यो मलाई किन हान्ने भनेर । एकछिन चुपचापै हिँडें । यसो ध्यान दिएर सुनेको त सबैले पंचायती ब्यबस्था मुर्दाबाद, बहुदलिय ब्यबस्था जिन्दाबाद पो भन्दै रैछन् । अनि बल्ल मैले पनि त्यसै भनें । तर किन आज भिन्नै नारा लगाए भन्ने कुरा मेरो मनमा खेलिरह्यो । हुन पनि ब्यवस्था भनेको के हो ? जिन्दाबाद र मुर्दाबाद भनेको के हो ? अमर रहोस् भनेको के हो ? पंचायत र बहुदल भनेको के हो ? ८ बर्षको फुच्चेलाई के थाह ? तै पनि हिंडियो जुलुसमा चिच्याउँदै । ठेस लागेर खुट्टाभरी रगत बगेको थियो दुखाइको महसुस नै भएन ।

घर पुग्दा बा ले रेडियोमा समाचार सुन्दै हुनुहुन्थ्यो अनुहार मलिन थियो । मैले आज स्कुलमा जुलुश निकाले किन हो बा ? भनेर सोधें, बा ले बहुदल आयो अब दुःख पाइन्छ भन्नू भयो । म झन अलमल परें । दुःख पाइने भए किन अबिर जात्रा गरेका हुन् त ? पछि खाना खाने बेला दाइले सम्झाउनु भयो । बहुदलीय ब्यबस्थामा दुःख होइन बरु सुख पाइन्छ । आफ्ना हक अधिकार पाइन्छ । मनमा लागेको र चित्त नबुझेको कुरा भन्न पाइन्छ । चुनाव हुन्छ अनि हामी जस्तै मान्छेहरुले सरकार चलाउँछन् । देशमा विकास हुन्छ । पढ्न लेख्न र बिरामी हुँदा उपचार गर्न स्कुल र अस्पताल बन्छन् कोहि अकालमै मर्नु पर्दैन । मैले बुझेँ जस्तो गरि टाउको हल्लाएँ बा केही बोल्नु भएन ।

भोलिपल्ट देखि स्कुलमा खासखुस हुन थाल्यो पाटी (पार्टी) भन्ने, कोहि काँग्रेस भन्थे कोहि कम्निस्ट (कम्युनिस्ट) । हामी भन्दा अलि ठुला दाइहरु आएर भन्थे ल है कांग्रेस हुन पर्छ । अनि फेरि अरु दाइहरु आएर भन्थे ल है कम्निस्ट हुन पर्छ । हिजो जुलुसमा संगै हिँडेका दाइहरु आज अलग अलग समूह बनाएर हिँड्दै कानेखुसी गर्दै थिए । हामी जिल्ल, के हो कांग्रेस ? के हो कम्निस्ट ? त्यो दिन पनि स्कुलमा खासै पढाई भएन । सरहरु पनि समूह समुहमा गफ गरेरै बिताए । बिस्तारै दिनहरु बित्दै जाँदा कांग्रेस र कम्निस्ट भन्ने पाटिका कुरा जहाँ गयो त्यहिं सुनिन थाल्यो । हाम्रै उमेरका साथीहरु पनि कोहि कांग्रेस भन्थे त कोहि कम्निस्ट । मलाई सोध्थे, ओइ तँ के होस् ? केही दिन सम्म मैले यसको जवाफ नै पाइन त्यसैले हाँसेरै टारिदिएँ । के भन्ने के भन्ने थाहा भए पो ।

गाउँका पढाइमा जान्ने केही दाइहरुसंग मेरो संगत थियो । मलाई नजानेको कुरा सिकाइदिन्थे संगै घुमाउंथे पनि । तिनै दाइहरुले मलाइ कम्निस्ट हुन पर्छ भने । मैले केही नसोधी फ्याट्ट भने हुन्छ म त कम्निस्टै हुनि हो । दाइहरु खुब हाँसे म पनि संगसंगै हाँसें । घरमा गएर दाइलाई भनें म त कम्निस्ट हुम् । दाइ केही बोल्नु भएन एकछिन् अनुहारमा हेर्नू भयो अनि मुसुक्क हाँस्नु भयो । मलाई त्यति भए के चाहियो खुशीले कुदेँ । भोलिपल्ट साथीहरुसंग बडा गौरवले भनें म त कम्निस्ट हुम् । यसरी भएँ म बबुरो कम्निस्ट । पाटी के हो ? नीति थिती विधि के हो ? मलाई के मतलव ? मलाई त बस एउटा पाटी छान्नु थियो छानें । पढाइमा फस्ट हुने दाइहरुले भनेको पाटी पक्कै राम्रो होला फेरि घरमा दाइले पनि मौन समर्थन जनाउनु भयो । मलाई त्यति भए पुग्यो पाटी छान्ने आधार । हरेकजसो नेपालीले राजनैतिक दलमा आवद्ध हुने र पार्टी छनोट गर्ने आधार यस्तै हुन् । यहाँ पार्टिको विधान पढेर नीति तथा कार्यदिशा बुझेर कसैले पार्टी छानेका होइनन् । घरका अगुवाहरु जुन पार्टिमा लागे पछुवाहरुले पनि त्यही पार्टिलाई आफ्नो बनाए । जसले आफन्तले भनेको नमानी फरक पार्टी रोजे त्यस्ताहरु बर्षौं सम्म आफन्तबाट बहिस्कृत भए । नाताभन्दा पार्टी ठूलो भन्ने खालको स्कुलिङ (प्रशिक्षण) ले नेपाली समाजको एकता व्यापक खुकुलो बनाइदियो ।

वि. सं. २०४८ सालको आम निर्वाचनताका हो सायद कांग्रेस र कम्निस्ट भेट्ने बित्तिकै झगडा गरिहाल्ने । एकले अर्कालाई शत्रु जस्तै ठान्ने कुकुर बिराला जस्ता, देख्यो कि झम्टी हाल्ने जस्तो गर्न थाले । आम बुझाई के थियो भने कांग्रेस धनिहरुको पाटी र कम्निस्ट गरिवको पाटी । तथापी गरिवहरु जसले पैसा वा जागिर दिन्छ त्यही पाटिलाई भोट दिने मानसिकतामा थिए जो अहिलेसम्म पनि कायमै छ । मलाई लाग्थ्यो नेपालका धेरैजसो मानिस गरिव छन् त्यसैले कम्निस्ट पाटिले पक्कै जित्छ । चुनावताका एउटा हल्ला मच्चाइयो । कम्निस्टले जात धर्म मान्दैन । नाता पनि मान्दैन । साठी नाघेका बुढाबुढीलाई गोलि हानेर मार्छन् । मलाई पत्यार भने लागेन । दाइहरुसित सोधें पनि, उहाँहरुले, ढाँटेका हुन् । त्यस्तो केही पनि गर्दैन सब झुट हो भने म ढुक्क भएँ । चुनाव हुनु भन्दा २/३ दिन अघि होला सायद हाम्रो साइँलाबाका छोरा ठुल्दाइ (अहिले स्वर्गिय भइसक्नु भयो) ले बा संग कुरा गरेको सुनें, “हेर्नुस कान्छबा बोट (भोट) त कांग्रेसलाइ नै दिनि हो । कम्निस्ट त पापी हुन् धर्म मान्दैनन, नातापाता केही भन्दैनन्, जहान परिवारलाई एकै ठाउँमा बस्न दिन्नन्, १२ घण्टा काममा लगाउँछन्, अझ तपाईं जस्ता साठी बर्ष नाघेकालाई त गोलि हानेर मार्छन् ।” बा चुपचाप सुनिरहनु भएको थियो मुन्टो हल्लाउँदै । दाइले ढाँटेको देखेर मलाई खुब रिस उठ्यो । नजिकै गएर कराएँ, दाइले ढाँट्नु भएको हो यस्तो केही गर्दैन कम्निस्टले । बा राता आँखा पार्दै म तिर फर्किनु भो र एक झापड लाउनुभयो । म बबुरो सुँक्क सुँक्क गर्दै आमै तिर गएँ । ठुल्दाई जुरुक्क उठेर बा लाई भने, कुरा यिनै हुन् कान्छबा भाई (मेरो माइलो दाई) लाई सम्झाउनुहोला । यो चिचिलालाई पनि ठिक गर्नु होला यस्तैले बिगार्छन् । यति भन्दै घरबाट निस्के ठुल्दाई । म त्यो दिन साँच्चै डराएँ, यी दाइले भनेको नै ठिक हो जस्तो लाग्यो ।

चुनाव भयो, नतिजा आयो कांग्रेस पाटिले बहुमत ल्यायो भन्थे मलाई के थाह बहुमत भनेको के हो ? मलाई त कम्निस्टले हारेको मात्रै पो पीर थियो । दाइहरुले भन्थे कांग्रेसले झुक्याएर र बुथ कब्जा गरेर जितेको हो । अर्को पटक कम्निस्टले जित्छ । २०५१ सालमा कांग्रेसको आन्तरिक गुटबन्दिका कारण गिरिजा प्रसाद कोइरालाको सरकार अल्पमतमा परे पछि मध्याबधी चुनाव हुने भयो । त्यतिबेलै सुनेको हो मैले छत्तिसे र चौहत्तरे भन्ने उतिबेला बुझिनँ पछि १० कक्षातिर पुग्दा बुझें बल्ल । चुनावको प्रचार प्रसार हुन थाल्यो । त्यतिबेला कांग्रेस र एमाले भन्ने दुई पाटिको नाम निकै सुनिन्थ्यो । अलिअली राप्रपाको पनि । राप्रपा पञ्चहरुको पाटी हो भन्थे । हाम्रा बा लाई खै कसले हो राप्रपाको सदस्य बनाएछ । बा ले हलो मा बोट हाल्नी हो भन्नुन्थ्यो । एउटा पाटिकाले अर्को पाटिकालाई गाली गरेर भाषण गर्दा खुबै ताली बजाउंथे । एमालेकाले कांग्रेसलाई गाली गरेर भाषण गरेको सुन्दा मैले पनि जोड जोडले ताली बजाउँथे । एमालेलाई गाली गरेर भाषण गर्दा कांग्रेसका समर्थक साथिहरुले खुबै ताली पिट्थे । कक्षामा पनि हामी दुई पाटिवालाको झगडा परिरन्थ्यो । त्यतिबेला पनि कांग्रेस र एमाले शत्रु झैं ठान्थे । हामीले त्यही सिक्यौं । मध्यावधी चुनावपछि एमाले पहिलो (ठुलो) पाटी बन्यो । कुनै पाटिको पनि बहुमत आएन । एमाले पाटिका मनमोहन अधिकारी प्रधानमन्त्री भए । एमाले समर्थकहरु खुबै खुशी भए भने कांग्रेस समर्थकहरु दुःखी भएका देखिन्थे । बजेट भाषणमार्फत् मनमोहनको सरकारले ७० बर्ष माथिका लाई बृद्धभत्ता दिने घोषणा गर्यो । आफ्नो गाउँ आफै बनाउँ भन्ने कार्यक्रम ल्यायो । गाविसले निश्चित रकम पाउने भए । यो समाचार सुनेर बा ले भन्नू भो,”हैट् ६० बर्ष पुगेकालाई गोलि हान्छ भनेको पाटीले बुढाबुढिलाई भत्ता दिने पो भन्छ गाँठे । कांग्रेसले त हाम्लाई ढाटेछन् । अब अर्को चोटी म सूर्यमा बोट हाल्छु ।”

साँच्चै यहि त हो अधिकांश नेपालीले बुझेको पाटी राजनिति र भोट हाल्ने प्रवृत्ती । भोटर कैयौं थपिए कैयौं दोहोरिए पार्टी उनै त छन् ३१ बर्ष (अझ २००७ साल देखिको हिसाब गर्यो भने त ७० बर्ष) देखिका प्रतिस्पर्धी कांग्रेस र कम्निस्ट । हिजोदेखि जे जसरी चल्दै आयो आज पनि उसरी नै चल्दैछ । मेरो नेता र मेरो पार्टी ठिक, अरु सबै बेठिक ।