अव ११ र १२ का कक्षासमेत जागरण एफ. एम. बाट

सुर्खेत, २० वैशाख (जागरण) । जागरण एफ. एम. सुर्खेतले कक्षा ११ र १२ का विद्यार्थीका लागि पनि पठनपाठन शुरु गरेको छ ।

कोरोना भाइरसको महामारीबाट उत्पन्न परिस्थितिका कारण पठनपाठनमा सहभागि हुन र परीक्षासमेत दिन नपाएका विद्यार्थीका लागि रेडियोमार्फत् नै कक्षा सञ्चालन गरिएको हो ।

आफ्नो स्थापनाकाल २०६५ सालदेखि नै तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पहिलो पटक रेडियो कक्षा सञ्चालन गरेको जागरण एफएममार्फत् राती सवा ९ बजेदेखि कक्षा ११ र १२ का अनिवार्य अंग्रेजी विषय पठनपाठन शुरु भएको हो ।

 

नेपाल शिक्षक महासंघ सुर्खेतसँगको सहकार्यमा जागरण एफ. एम. ले माध्यमिक शिक्षा परीक्षा (एसइइ) विशेष कक्षाअन्तर्गत अनिवार्य अंग्रेजी, नेपाली, सामाजिक, गणित र विज्ञान विषयको पठनपाठनसमेत गरिरहेको छ ।

विगतमा पुसदेखि फागुनसम्म तीन महिना रेडियो कक्षा चलाउने गरिएकोमा यो विपद्को बेलामा समेत विद्यार्थीको ध्यान पठनपाठनमा केन्द्रित गराउन रेडियो कक्षा सञ्चालन गरिएको जागरण एफ. एम. का स्टेशन म्यानेजर दीपेन्द्र ओलीले जानकारी दिनुभयो ।

जागरण एफ. एम. सञ्चालक समितिका अध्यक्ष पूर्णप्रसाद पौडेलले विपद्को मात्रै नभई अन्य सामान्य समयमा अन्य तहका कक्षासमेत प्रशारण गरिने बताउनुभयो ।

हाल १२ जना शिक्षकहरुको संलग्नतामा कक्षाहरु सञ्चालन गरिएको र शिक्षकको व्यवस्थापन आफूहरुले गरेको नेपाल शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्ण थापाले बताउनुभयो ।