सुर्खेत, २३ वैशाख (जागरण) । छिमेकी प्रदेश सुदूरपश्चिम र ५ नम्वर प्रदेशमा कोरोना संक्रमित फेला परेसँगै कर्णाली प्रदेश सरकारले एक हप्ताका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आज विहानैदेखि लागू हुनेगरी सात दिनसम्म कर्णाली भित्रिने र कर्णालीबाट बाहिरिने सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्दारका नाममा मान्छे ओसारपसार जारी भएपछि व्यापक आलोचना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार लकडाउन भएपछि पनि कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट मात्र १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् ।
सामाजिक विकास मन्त्री एवंम् प्रदेश स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले कर्णालीलाई पूर्ण रुपमा बन्द गरिएको र यो अवधिमा प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको टोली खटाइने जागरणलाई बताउनुभयो ।
बैठकबाट २५ स्थानमा टोली खटाउने निर्णय गरिएको भए पनि डोल्पाका अरु दुई स्थान थप गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता स्थानमा टोली परिचालन गरिने उहाँको भनाई छ ।
सामाजिक विकास मन्त्री रावलकाअनुसार स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रूत परीक्षण (आरडीटी) समेत गर्नेछ ।
सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ । प्रतिष्ठानका चिकित्सक जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पा तथा प्रदेश अस्पतालका चिकित्सक सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा परिचालन हुनेछन् । आवश्यकताअनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जाने मन्त्री रावलले बताउनुभयो ।