पंखबहादुर शाही ।
सुर्खेत, २४ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा अघि बढाइएका कृषि पकेट क्षेत्रहरुमा अत्यावश्यक कृषि सामग्रीहरु अनुदानमा वितरण गर्न थालेको छ ।
उत्पादन वृद्धि गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयमार्फत् अनुदानमा कृषि सामग्री वितरण गर्न थालिएको हो । निर्देशनालयकाअनुसार अहिले १० वटै जिल्लामा आवश्यक्ताअनुसार कृषि सामग्री वितरणको कार्य भइरहेको छ ।
समूहमार्फत् व्यवसायिक कृषिलाई अघि बढाएका कृषकहरुका लागि कृषि सामग्रीमा कृषि विकास निर्देशनालयको ५० प्रतिशत र बाँकी कृषि समुहहरुले बजेट खर्चिएका छन् ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशमा कोरोनाको महामारीसँग जोड्दै रोगभन्दा छिटो भोकमरी आउनसक्ने भएकाले कृषि सामग्रीको अनुदान वितरणको काम सामाजिक दूरी कायम गर्दै अघि बढाइएको बताउनुभयो ।
उहाँले जस्तोसूकै अवस्थामा पनि कृषिका कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । मन्त्री केसीले अब कृषि पेशालाई आधुनिकीकरण सँगै यान्त्रिकीकरण विकास गरी उत्पादनलाई वृद्धि गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले प्रदेशका १० ओटै कृषि विकास कार्यालयहरुमार्फत् कृषकलाई कृषि सामग्रीमा अनुदान तथा सहुलियत प्रदान गरिरहेको बताउनुभएको छ ।
कृषकले उत्पादन गरेको तरकारी बजारीकरणमा समस्या समाधान गर्न आफूहरुले सहजिकरण गरिररहेको र उत्पादनले बजार पाउँदैन कि भन्ने चिन्ता नगर्न पनि आग्रह गर्नुभएको छ ।
यसैबीच, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री केसीको उपस्थितिमा सुर्खेतका भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका पाँच ओटा कृषि समुह, कृषि पकेट क्षेत्रहरुमा पावर टिलर लगायतका कृषि सामग्री हस्तान्तरण गरिएको छ ।