सुर्खेत, २९ बैशाख (जागरण) । कर्णाली प्रदेशको सिमानामा यसअघिदेखि गरिएको कडाइलाई निरन्तरता दिइने भएको छ । कर्णाली प्रदेशको कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको बैठकले पहिलो चरणमा एक हप्ताका लागि गरिएको कडाईलाई अनिश्चितकाल सम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो ।
पाँच नम्वर प्रदेशको बाँके र सुदुरपश्चिम प्रदेशको कैलालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै सतर्क रहेको भन्दै हुनसक्ने जोखिमलाई मध्यनजर गरी सिमानामा कडाई गरिएको छ ।

कोरोना भाइरसको संक्रमण कर्णाली प्रदेशमा भित्रिन नदिनेगरी सतर्कता अपनाइएको र नाकाबन्दको अवस्थालाई निरन्तरता दिइएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।
यद्यपी, बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेशमा आउन सहज गर्ने निर्णय गरेको छ ।
यसैगरी भारत र नेपालका विभिन्न स्थानबाट प्रदेशको सीमामा आएर अलपत्र परेका नागरिकहरुलाई राख्नका लागि नाकामा क्वारेन्टाइन निर्माण गर्ने, तत्काल बाहिरबाट आएकालाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य क्वारेन्टाइनमा राख्न लगाउने निर्णय पनि भएको छ ।
भारतलगायत स्थानबाट घर आउने सम्भावनालाई ध्यानमा राखेर पालिकहरुले क्वारेन्टाइन निर्माण गर्ने, बिउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना लगायत कृषि र पशुपालनको लागि कृषि सामग्रीहरु र अत्यावश्यक कृषि उपकरण ओसारपसार गर्न पाउने निर्णय पनि समितिले गरेको छ ।
सुरक्षा सतर्कता र भौतिक दुरी कायम गरी स्थानीय तहको समन्वयमा कृषकहरुलाई बालि स्याहार्न र खेतीपाती गर्न सहजीकरण गर्ने, महत्वपूर्ण र रोजगारमूलक विकास निर्माणका लागि आवश्यक पाइप, छड, सिमेन्ट र निर्माण उपकरणहरु ढुवानी र ओसारपसार गर्न पाउने, सुरक्षा सतर्कता अपनाउदै परियोजनाहरुमा काम गर्ने जनशक्ति आवतजावतको व्यवस्था गर्ने, चामल, दाल, नुन, तेल, चिनी जस्ता अत्यावश्यक खाद्य सामग्री आयात गर्ने, ग्याँस र डिजेल पेट्रोलजस्ता पेट्रोलियम पदार्थ आयात गर्ने तथा औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री ल्याउने व्यवस्था गर्ने निर्णय पनि भएको छ ।