सल्यान, ७ जेठ (जागरण) । सल्यानमा एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा न २ चिल्ढालेबाट प्राथमिक स्वास्थ्य चौकी थारमारेका लागि छुटेको रा १ झ १३७ न एम्बुलेन्स दुर्घटना हुँदा बागचौर नगरपालिका वडा न २ चिल्ढाले निवासी ४४ वर्षिया जानकी बुढाथोकीको मृत्यु भएको हो ।
गए राती एक बजे चिल्ढालेबाट गर्भवतिलाई लिएर स्वास्थ्यचौकी लैजाँदै गर्दा बागचौर नगरपालिका वडा न २ ठाँटीचौर आग्रीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् ।
घाइते हुनेमा गर्भवती १९ वर्षीया कल्पना चलाउने, ४६ वर्षीय केवल बुढाथोकी, ३५ वर्षीया डम्बरी बुढाथोकी र ४० वर्षीय राम बहादुर बुढाथोकी रहेका छन् ।
गर्भवति चलाउनेको स्वास्थ्य अवस्था राम्रो रहेको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेले जानकारी दिएको छ । एम्बुलेन्स चालक फरार रहेको र उहाँको खोजी कार्य भईरहेको प्रहरीको भनाई रहेको छ ।