यी हुन् बजेट पाउने कर्णालीका पाँच स्वास्थ्य संस्था

सुर्खेत, ३१ बैशाख (जागरण) । कोरोना भाइरस प्रतिकार्य र रोकथाम गर्न कर्णाली प्रदेश सरकारले तीन वटा अस्पताल र दुईवटा स्वास्थ्य सेवा कार्यालयको पुर्वाधार विकासका लागि आवश्यक बजेट उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले आज कर्णालीको प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिम तथा कालिकोट र जाजरकोटका स्वास्थ्य सेवा कार्यालयलाई कोरोना रोकथामको लागि बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रमको पहिलो संशोधन स्वीकृत गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताउनुभयो ।

बैठकले नेपाल सरकारबाट खटिने सचिवहरुलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा खटाउने र प्रदेश सरकारबाट प्रदेश सरकारमा पदस्थापन गर्नका लागि संघिय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । प्रदेश विकास निर्माणमा दोहोरोपना आउन नदिन संघिय सरकारलाई अनुरोध गर्ने निर्णयसमेत प्रदेश सरकारले गरेको छ ।