सुर्खेत, ३१ बैशाख (जागरण) । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अर्थात् बजेट अधिवेशन जेठ ११ गतेका लागि आव्हान भएको छ ।
प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जेठ ११ गते दिउसो ३ बजेका लागि अधिवेशन आव्हान गर्नुभएको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आव्हान गरिएको सुचना प्रदेश प्रमुख कलौनीले जारी गर्नुभएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीका लागि प्रदेशसभा सदस्यहरुको सुझाव संकलनका लागि बजेट अधिवेशन आव्हान गरिएको छ ।
कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको एक हप्ताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्छ ।
नीति तथा कार्यक्रम र बजेट तथा योजनाका सन्दर्भमा आर्थिक मामिला तथा योजना मन्त्रालय आन्तरिक तयारीमा जुटिसकेको छ । मन्त्रालयले प्रदेश योजना आयोगको अग्रसरतामा मन्त्रालयगत रुपमा नीति तथा कार्यक्रम र बजेट तथा योजनाको संकलन कार्यमा अघि बढेको हो ।