कर्णालीका विभिन्न पालिकामा हातले नछोइकन सञ्चालन गर्न मिल्ने हातधुने स्टेसन

सुर्खेत, ३१ बैशाख (जागरण) । कर्णाली प्रदेशका विभिन्न जिल्लामा हातले नछोइकन सञ्चालन गर्न मिल्ने हात धुने स्टेसन स्थापना गर्न शुरु गरिएको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट जिल्लाका साथै सुदुरपश्चिम प्रदेशको अछाममा समेत यस्तो प्रविधि जडान गर्न शुरु गरिएको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, लेकबेसी नगरपालिका र सिम्ता गाउँपालिका, दैलेखको दुल्लु नगरपालिका र डुङ्गेश्वर गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका र शिवालय गाउँपालिका, कालिकोटको राष्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकामा यस्तो प्रविधि जडान गर्न शुरु गरिएको हो ।

खुट्टाद्वारा चलाउन सकिने नयाँ प्रविधिमा आधारित हात धुने स्टेसन ।

सेवाग्राहीको चाप अत्यधिक भइरहने भएकाले मागको आधारमा च्यारिटी वाटरको आर्थिक सहयोग र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालले जडान गर्न थालेको हात धुने स्टेसन सुदुरपश्चिम प्रदेशको अछाम जिल्ला कमलबजार नगरपालिकामासमेत स्थापना गरिनेछ ।

पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ तथा अन्य सरुवा रोगहरुबाट बच्नका लागि हातले नछोइकन हात धुन मिल्ने प्रविधिको हात धुने स्टेशन जडान शुरु गरिएको हो ।

हेल्भेटास नेपालले तयार गरेको प्रविधिको मोडेललाई स्थानिय उद्योगमार्फत् उत्पादन गर्ने गरिएको छ । हेल्भेटासका क्षमता अभिवृद्धि तथा सामाजिक विकास संयोजक नीलकण्ठ पाण्डेकाअनुसार एउटा स्थानिय तहका बढीमा सात ठाउँमा यस्ता स्टेशन स्थापना गरिनेछ ।

प्रदेशको राजधानी स्थित वीरेन्द्रनगर नगरपालिकाको कार्यालय सुर्खेतबाट शुरु गरिएको कार्यअन्तर्गत आज वीरेन्द्रनगरकै ७ नम्बर वडा कार्यालयमा समेत स्थापना गरिएको छ ।

नयाँ स्टेशनमा हात धुँदै वडाअध्यक्ष ध्रुव चपाई ।

सुर्खेतमा च्यारिटी वाटरको आर्थिक सहयोग र समाज जागरण केन्द्र (स्याक) नेपालको सहजिकरणमा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालले जडान शुरु गरेको हो ।

कोभिड १९ विरुद्धको लडाइमा हेल्भेटासले हातैले नछोइकन खुट्टाको माध्यमद्वारा हात धुन सकिने नयाँ प्रविधि सहयोग गरेकोमा वडाअध्यक्ष ध्रुब चपाईले खुसी व्यक्त गर्नुभयो ।

हात धुँदै एक वडा सदस्य ।

कार्यक्रममा हेल्भेटास नेपाल सुर्खेत कार्यालयका टिम लिडर मदन भट्ट, स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्य, ७ नम्वर वडाका सदस्य तथा कर्मचारीलगायतको उपस्थिति थियो ।