विपद्मा बालबालिकाको सुरक्षाका लागि नीति बनाउँदै कर्णाली सरकार

सुर्खेत, २ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले विपद्मा बालबालिकाको सुरक्षाको सुनिश्चित गर्ने गरी नीति बनाउने भएको छ । यसका लागि बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थासँगको सहकार्यमा नीति बनाउनका लागि आफूहरु प्रतिबद्ध रहेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो ।

सेभ द चिल्डे«नसँगको सहकार्यमा सामुदायिक सुचना नेटवर्क (सिआइएन) मार्फत जागरण एफ. एम.लगायत कर्णालीका विभिन्न रेडियोले प्रशारण गरेको ‘बालबालिकासँग मन्त्री’ कार्यक्रममा मन्त्री रावलले विपद्मा बालबालिकाको सुरक्षासँग जोडेर नीति बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

मन्त्री रावलले कोरोनालगायत सबै प्रकारका विपद्मा बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने भएकाले कर्णाली प्रदेश सरकार सजग रहेको बताउनुभयो ।
नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ नियन्त्रणका लागि प्रदेशमा बनाइएका क्वारेन्टाइनलाई बालबालिकामैत्री र अपाङ्गतामैत्री बनाउनका लागि मातहतका निकायलाई निर्देशन दिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा उहाँले कोभिड १९ का कारण अवरुद्ध भएको पठनपाठन सुचारु गर्नका लागि संघीय सरकारसँग समन्वय गरिरहेको र बन्दाबन्दीको समय लम्बिँदै गएमा अनौपचारिक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

भौगोलिक अवस्था हेरेर घरमै बसेका बालबालिका केन्द्रित रेडियो, टिभी, अनलाइनलगायतका बिभिन्न माध्यमबाट पठनपाठन सुरु गर्नका लागि गृहकार्य भइसकेको उहाँको भनाई छ ।

बन्दाबन्दीका कारण बालबालिकाले एक्लो महसुस गर्ने, बिभिन्न प्रकार विकृतिविसङ्गतिमा उनीहरू सामेल हुनसक्ने जोखिम कोभिड १९ कारणले देखिएको छ ।

त्यसैले गाउँसमाजमा रहेका शिक्षकलाई समुदायस्तरमा गइ बालबालिकालाई मनोविमर्शकर्ताको भूमिकामा प्रस्तुत हुन निर्देशन दिइएको मन्त्री रावलले बताउनुभयो ।