कालिकोट, ४ जेठ (जागरण) । दाषीलाई संरक्षण गर्न लागि परेको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा उहाँको राजिनामा माग गरिएको छ ।
कालीकोटको पलाँता गाउँपालिका वडा नं १ को राडुनेटामा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र स्थानिय नागरिकहरुबीच कुटाकुट भएपछि उत्पन्न परिस्थितिलाई मुख्यमन्त्रीलगायतको टीम वास्तविकतालाई तोडमोड गर्न लागिपरेको भन्दै यस्तो माग गरिएको हो ।
जनप्रतिनिधिबीच कुटाकुट भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उहाँका प्रमुख स्वकिय सचिव खेम सिंहको अग्रसरतामा गाउँपालिकाका अध्यक्षको परिवारलाई हेलिकप्टरमार्फत् सुर्खेत पुर्याइएको तर त्यो भन्दा गम्भिर घाइतेलाई वास्ता नगरेको स्थानिय नागरिकको भनाई छ ।
पलाँतामा केहि दिनदेखि आन्दोलन चर्किएको छ । पलाँता गाउँपालिकामा भेला भएका पाँच सय बढी वडावासी नागरिकले भ्रष्टाचारमा संलग्न अध्यक्ष बमलाई मुख्यमन्त्रीले संरक्षण गरिरहेको दावी गर्दै राजिनामा मागसमेत गरेका छन् ।
कालिकोट जिल्लाकै निर्वाचनमा पलाँता गाउँपालिकाले हार वा जीतको फैशला गर्ने गरेको स्थानिय राजनितिक विश्लेषकहरुले बताउने गरेका छन् । पार्टीलाई धरासायी बनाउन र भ्रष्टाचारको विरोध गर्ने आफ्नै पार्टीका कार्यकर्ता सिध्याउन मुख्यमन्त्री लागिरहेको उनीहरूको दावी छ ।
पार्टी संगठनलाई नटेरेको र भ्रष्टाचारमा संलग्न भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोट जिल्ला कमिटी सदस्य समेत रहेका बमको केही महिना अघि पार्टी सदस्यता निलम्बन गरिएको थियो । आफ्नै घरमा गाउँपालिका कार्यालय राखेको भन्दै उतिबेला चर्को आलोचना पनि भएको थियो ।
बमलाई पटकपटक पार्टीको घोषणापत्र बमोजिम काम गर्न सचेत गराउँदा पनि काम नगरेको, विकास वजेटमा एकलौटी गरेको र विगत १० महिना देखि कसैलाई सामाजिक सुरक्षा भत्ता नदिएर भ्रष्टाचार गरेको दावी स्थानीय नागरिकले गरेका छन् ।
अनियमितताको धेरै उजुरी आएपछि नेकपा कालिकोटले यसबारेमा छानबिन गर्न ३ सदस्यीय कमिटी गठन गरेको थियो । छानबिन समितिका सदस्य टेकबहादुर बुढाले स्थलगत भ्रमण, स्थानीय नागरिक र गाउँपालिका भित्रका नागरिक समाज तथा विभिन्न राजनीतिक दलहरुको भनाइको आधारमा प्रतिवेदन तयार गरेको र यसलाई नेकपा कालिकोटका इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री शाहीले रोकेको बताउनुभएको छ ।