प्रहरी जवान मृत्यु प्रकरण रहस्यमय बन्दै, प्रहरीबाटै हत्या गरिएको परिवारको दावी

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिका–३ स्थित प्रहरी चौकी आग्रीगाउँ देउली डाँडामा कार्यरत एक जना प्रहरी जवान मृत भेटिएको घटना रहस्यमय बन्न थालेको छ ।

मृतकका आफन्तले प्रहरी चौकीभित्रबाटै हत्या भएको र हाल घटना प्रशासनबाट नै तोडमोड गर्न थालिएको मृतकका आफन्तले गुनासो गरेका हुन् ।

वैशाख ३० गते विहान २६ बर्षीय प्रहरी जवान नगेन्द्र खड्का मृत अबस्थामा भेटिएको घटना छानबिन गर्ने प्रशस्त प्रमाणहरु हुँदा हुँदै पनि प्रहरी प्रशासनद्वारा घटना तोडमोड गर्न लागिएको आफन्तहरुले गुनासो गरेका छन् । मृतक खड्काका परिवारजनले आज एक प्रेस विज्ञप्ती जारी गर्दै खड्काको हत्या प्रहरीबाट नै भएको दावी गरेका छन् ।

घटना प्रहरीले ढाकछोप गर्न थालेको भन्दै प्रहरी चौकी इन्चार्ज सहित स्टाफहरु सबैलाई छानबीनको दायरामा ल्याई दोषीलाई कानूनी कारबाही गर्नुपर्ने समेत माग परिवारजनले गरेका छन् ।

विज्ञप्तीमा प्रहरी भित्रबाटै घटना भएको हुनसक्ने ७ ओटा आधारहरु समेत उल्लेख गरिएको छ । तर, प्रहरीले ती आधारहरु बेवास्ता गर्दै घटना किनारा लगाउन थालेको मृतककी श्रीमती कालिका रावत खड्काले बताउनुभयो ।

मृतक खड्काका दाई यमबहादुर खड्काले छानबीनको लागि स्थानीय नागरिक र प्रत्येक्षदर्शीसँग समेत छलफल गर्नुपर्ने माग गर्नुभएको छ ।

प्रहरी जवान खड्का गत वैशाख ३० गते प्रहरी चौकीभन्दा अन्दाजी ५०० मिटर टाढा ऐँसेलुको झाडीमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।

प्रहरीले वैशाख ३० गते विहान २ बजेदेखि खड्का ड्युटीमा खटिएको र सात राउण्ड गोली सहित पेस्तोल लिएर भागेको बताएको थियो ।

मृतक प्रहरी जवान सुर्खेत जिल्ला लेकबेशी नगरपालिका वडा नं. ३ दशरथपुर घर भई हाल सिम्ता गाउँपालिका वडा नं. ३ स्थित आग्रीगाउँ प्रहरी चौकिमा कार्यरत हुनुहुन्थ्यो ।

घटनाको सन्दर्भमा आफूहरुले अनुसन्धान गरिरहेकाले सत्यतथ्य चाँडै बाहिर ल्याउने जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।

मृतकका आफन्तले दावी गरेका प्रहरीबाट नै हत्या भएको हुन सक्ने आधारहरुः

  • घटनामा प्रहरी चौकी इन्चार्ज (प्रहरी सहायक निरिक्षक मानबहादुर आले) सँग हुनुपर्ने पेस्तोल मृतकको हातमा हुनु । तर त्यसबारे माथिल्लो तहबाट छानबीनको दायरामा आलेलाई नल्याइनु । 

 

  • मृतक भेटिएको ठाउँ नजिक गोलीका खोका नभेटिनु र मृतकको शरिरभरी लठ्ठीले प्रहार गरेजस्ता निलडाम देखिनु ।

 

  • मृत्यु हुँदा मान्छे छट्पटाउँछ र हातमा भएको सामान पनि खसेको अवस्थामा हुनुपर्ने सवैले अनुमान लगाउन सक्ने हुँदा हुँदै मृतक भेटिएको ठाउँमा झाडी माडिएको पनि नभेटिनु, मृतकले लगाएका चप्पल सकुसल रहनु र पेस्तोलसमेत हातमै रहनु । यसबाट प्रष्ट हुन्छ कि, घटना अरु नै ठाउँमा गराएर मृत शरिर घटनास्थल भनिएको ठाउँमा ल्याई राखिएको ।

 

  • गोली लागेको स्थानमा सानो प्वाँल र निस्कने ठाउँमा ठूलो प्वाँल हुनुपर्ने विगतका घटनाहरुले बताएका, तर प्रहरीले मुचुल्कामा दायाँ कञ्चटमा गोली लागेर बायाँ कञ्चडबाट बाहिर निस्केको उल्लेख गरेको । घटनाको यथार्थः बायाँतर्फ सानो प्वाँल र दायाँ तर्फ ठूलो प्वाँल रहेको र पेस्तोल दायाँ हातमा रहेको ।

 

  • प्रहरीले गरिरहेको भनिएको छानविनमा स्थानिय नागरिक, प्रत्येक्षदर्शीसँग सोधपुछ् नगरिएको तर झारो टार्ने मनसायले घटनास्थल बाहिरका व्यक्तीहरुसँग कुराकानी गरिएको ।

 

  • प्रहरी चौकीको हाता नजिक झ्याङ्गमा लुकाइएको अवस्थामा मदिरासहितको भाँडो फेला पर्नु । यसले प्रष्ट पार्छ कि मदिरा सेवनपछि झगडा भई हत्या भएको हो । तर छानबीनको क्रममा यो विषय चटक्कै बिर्सनु ।

 

  • ड्युटीमा खटिएका भनिएका खड्का मृत अवस्थामा भेटिँदा प्रहरी पोशाकभन्दा फरक पोशाक सेतो टिशर्ट र निलो पाइन्टसहित भेटिनु ।