लकडाउन फितलो बनाउन दबाव दिँदै केही व्यवसायी, पटक पटक सरकारसँग हारगुहार

सुर्खेत, ५ जेठ (जागरण) । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरस रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई कर्णाली प्रदेशका केही व्यवसायीहरुले फितलो बनाउने प्रयास गरेका पाइएको छ ।

पछिल्लो समय अत्यावश्यक दैनिक उपभोग्य वस्तु खरिदविक्री गर्नका लागि भनेर तोकिएको समयमा कतिपय अन्य प्रकारका व्यवसायसमेत सञ्चालन गरी भिडभाड गराएको भेटिएको छ भने नियामक निकायहरु पनि मुखदर्शक बनेका छन् ।

पहिलो चरणमा लकडाउन घोषणा भएको केहिदिनमै कर्णाली प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाएका केहि व्यवसायीहरुले व्यापार चलाउने नाममा लकडाउनलाई फितलो बनाउने प्रयास गरेका पाइएको हो ।

सरकारले दैनिक उपभोग्य अत्यावश्यक वस्तु खरिदविक्रीका लागि समय तोकेको भन्दै अरु व्यापार पनि निर्धक्कसँग चलाउने र भिडभाड बढाउनेहरुबाट कोरोना भाइरसको संक्रमण हुनसक्ने खतरा रहेको सुर्खेतको वीरेन्द्रनगरमा लामो समयदेखि बस्दै आउनुभएका शिक्षक भरतकुमार दासले बताउनुभयो ।

उद्योगी व्यवसायीको तर्फबाट भन्दै आज पनि सुर्खेत उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग लकडाउनका कारण व्यवसायमा परेको असरबारे छलफल गरेका छन् ।

व्यवसाय चलाउन पाउनुपर्ने मागसहित मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाउँदै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेल ।

तर मुख्यमन्त्री शाहीले भने मानव जीवन नै संकटमा परेको बेला व्यवसायिक संकटको नाममा फितलो बनाउन नसकिने जवाफ दिनुभएको छ । उद्योग बाणिज्य संघका पदाधिकारीले सवैखाले पसलहरु खोल्न दिनुपर्ने माग गरेकोमा मुख्यमन्त्री शाहीले अत्यावश्यकबाहेक अरु पसल हालै खोल्ने कुरा कल्पना नगर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबविक्रम बुढाथोकीकाअनुसार मुख्यमन्त्रीले कोरोनाको संकट सामाधानका लागि एकतावद्ध प्रयास आवश्यक भएको बताउनुभएको छ ।

मुख्यमन्त्रीसँगको छलफलमा सुर्खेत उद्योग बाणिज्य स‌ंघका पदाधिकारीहरु ।

सुर्खेत उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले दिएको समय तालिकाअनुसार काम गर्ने हो भने लकडाउन हटाइएको जस्तै अवस्था हुने सल्लाहकार बुढाथोकीले बताउनुभयो । व्यवसायीहरुलाई कोरोनाले निम्त्याएको समस्यासामू अरु समस्या गौण रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

विश्वव्यापी संकटका रुपमा देखिएको कोरोनाका विरुद्ध सरकार सवै शक्तिका साथ लडिरहेको बताउदै सवै क्षेत्रको सहयोग आवश्यक रहेको मुख्यमन्त्री शाहीको भनाई छ ।

अत्यावश्यक सामग्रीको आपुर्तिवाहेकका अन्य व्यापार व्यवसाय तत्कालका लागि सञ्चालन गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको जीवन सुरक्षा नै सरकारको प्राथमिक दायित्व भएको बताउनुभयो ।