सुर्खेत, ६ जेठ (जागरण) । कोरोना भाइरसको जोखिमबाट अब कर्णाली प्रदेश पनि अछुतो नरहे पछि प्रदेश सरकारले कन्ट्र्याक्ट ट्रेसिङका चिकित्सक टोलीलाई निर्देशन दिएको छ ।
भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकका लागि अनिवार्य रुपमा आरडिटी र स्क्रिनिङ गर्न सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना भइसकेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले बताउनुभयो ।
उहाँका अनुसार प्रदेश सरकारले अब क्वारेन्टाइनमा बस्ने अवधि २१ दिन पुर्याउने सोंच छ । मुख्य नाकाबाट कर्णाली प्रवेश नगरी लुकीछिपी भित्रिने कारणले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै उहाँले यसमा सुरक्षा अवस्थामा कडाई गरिने बताउनुभयो ।
नागरिकको अनुशासन र उच्च सतर्कता अनिवार्य रहेको उहाँको भनाई छ । अहिलेसम्म सामान्यतः किटले धानिरहेको जनाउँदै प्रदेश सरकारले यसका लागि टेण्डर गरिसकेको, केही सङ्घीय सरकारसँग माग गरेको र केही विदेशबाट आएको उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारको योजनाअनुरुप प्रत्येक वडाबाट नमूना स्वाब सङ्कलन कार्य निरन्तर चलिरहेको बताउनुभएको छ ।
यसैबीच, कर्णाली प्रदेशमा कोरोना संक्रमणको पुष्टी भएका पहिलो व्यक्ति दैलेखमा भेटिए पनि कोरोना समुदायस्तरसम्म नफैलिएको भन्दै नडराउन नागरिकलाई प्रदेश सरकारले आग्रह गरेको छ । प्रदेश सरकारले डर नमान्न तर सतर्कता अपनाउन नागरिकलाई आग्रह समेत गरेको हो ।
थप संक्रमण हुन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्वन गर्न संक्रमित व्यक्ति, र परिवारजन तथा समग्र कर्णालीका नागरिक सचेत हुन जरुरी रहेको पनि उहाँले जागरणलाई बताउनुभएको छ ।
कर्णाली प्रदेशमा कोरोना (कोभिड–१९) परीक्षणका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरटी पिसिआर मेशिनसहितको प्रयोगशाला स्थापना गरी दक्ष जनशक्तिद्वारा विश्वसनीय रुपमा परीक्षण कार्य भइरहेको सामाजिक विकासमन्त्री रावलले जानकारी दिनुभयो ।
तर पुनःपुष्टिका लागि अन्य ठाउँका प्रयोगशालामा पठाउनुपर्ने प्राविधिक प्रावधान रहेको भन्दै आरडिटी तथा पिसिआर परीक्षणको १० प्रतिशत नेगेटिभसहित सबै पोजिटिभ स्याम्पलहरु पुनःपुष्टि गर्न बाँके अथवा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने गरिएको विज्ञप्तीमा जनाइएको छ ।