बबईमा कर्णालीका करिव दुई हजार नागरिक

सुर्खेत, ८ जेठ (जागरण) । भारतका विभिन्न ठाउँबाट कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार मानिने भेरीगङ्गा नगरपालिकाको बबई सम्म करिव दुई हजार नागरिक पुगेका छन् ।

भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरु बबईमा आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने करिव एक हजार नौ सय नागरिक सबै कर्णाली प्रदेशका नागरिक रहेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

उहाँले भारतबाट सयौँको सङ्ख्यामा कर्णालीका नागरिक भित्रिदै गरेकोले प्रदेश सरकारले सबैको आरडीटी गर्ने भन्दै स्थानीय सरकारसहित नागरिक सबैलाई उच्च सतर्कताका अपनाएर आफ्नो दायित्व पूरा गर्न अनुरोध गर्नुभयो ।

उहाँले कर्णाली प्रदेशका नागरिक भारतबाट आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेको बताउनुभयो । नागरिकको स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील भएर लागेको बताउनुभयो । प्रदेश सरकारले तत्काल आरडीटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति त्यहाँ पुगेको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले अहिले तत्काल ७०० किटसहित १६ जना आरडीटीका लागि कर्मचारी त्यहाँ परिचालन भएको बताउनुभयो ।

आवश्यकताको आधारमा अन्य थप किट पठाउने र परीक्षणकार्यलाई तीव्र बनाउने उहाँले बताउनुभयो । पछिल्लो साढे एक साताभित्र कर्णाली प्रदेशमा १५ देखि २० हजार नागरिक भित्रिसकेको अनुमान छ ।