कर्णालीको बजेट अधिवेशन आजदेखि

सुर्खेत, ११ जेठ (जागरण) । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अर्थात् बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ ।

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीका लागि प्रदेशसभा सदस्यहरुको सुझाव संकलनका लागि बजेट अधिवेशन आव्हान गरिएको छ ।

प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि अधिवेशन आव्हान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसको एक हप्ताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्छ । नीति तथा कार्यक्रम र बजेट तथा योजनाका सन्दर्भमा आर्थिक मामिला तथा योजना मन्त्रालय आन्तरिक तयारीमा जुटिसकेको छ ।

मन्त्रालयले प्रदेश योजना आयोगको अग्रसरतामा मन्त्रालयगत रुपमा नीति तथा कार्यक्रम र बजेट तथा योजनाको संकलन कार्यमा अघि बढेको हो ।