बुद्धी पुन ।
सल्यान, १२ जेठ (रेडियो राप्ती) । सल्यानको छत्रेश्वरी गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) का विरुद्ध खटिने जनप्रतिनिधि र कर्मचारीहरुको संस्थागत बीमा गर्ने भएको छ ।
गाउँपालिकाले कोरोना भाइरसको रोकथाम, नियन्त्रयण, उपचार तथा व्यवस्थापनमा खटिने जनप्रतिनिधि र कर्मचारीको अधिकतम् १ लाखको संस्थागत कोरोना भाइरस जोखिम बीमा गर्ने भएको हो ।
हालै सम्पन्न गाउँ कार्यपालिका बैठकले अहिलेको अबस्थामा जोखिम मोलेर कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा खटिने सबैको बीमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो ।
बीमा गर्नको लागी बीमा कम्पनीसँग छलफल भइरहेको उहाँको भनाई छ । अबको केही दिनमा नै संस्थागत रुपमा बीमा गरिने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष केसीले कोरोना भाइरस रोकथामको लागी अहिलेको अबस्थामा खटिएका सबै जनप्रतिनिधि तथा कर्मचारीमा हौसला प्रदान गर्न बीमा गर्ने तयारी गरिएको जानकारी दिनुभएको छ ।