कर्णालीमा कोरोना संक्रमितको संख्या पुग्यो २३

सुर्खेत, १३ जेठ (जागरण) । कर्णाली प्रदेशमा कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । अस्ती र हिजो सात जना नयाँ संक्रमित तथा आज विहान मात्रै १२ जना भेटिएका हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बाँके नेपालगञ्जको प्रयोगशालामा पाँच जना र प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी सुब्बाकुना, घण्टाघर र बबईबाट लिइएका स्वाबमा कोरोनाको संक्रमण भएको पाइएको कर्णालीको प्रदेश अस्पतालका निर्देशक मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिनुभयो । डाक्टर खड्काले संक्रमित व्यक्तिमा कोरोनाको लक्षण नदेखिएको र अवस्थामा सामान्य रहेको बताउनुभयो ।

यसैबीच कोरोना (कोभिड–१९) संक्रमणको पुष्टि अबदेखि सुर्खेतबाटै हुन थालेको छ । यसअघि सुर्खेतस्थित प्रयोगशालामा कोरोना पोजिटिभ देखिएकाको नेपालगञ्ज पठाएर पुनःपरीक्षण गर्ने गरिएको थियो । तर अब भने कर्णाली प्रदेशमा गरिएको कोरोना परीक्षण नै अन्तिम परीक्षण भएको छ ।

नेपालमा संक्रमितको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो ।