होला त सेना परिचालन ?

सुर्खेत, १४ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले कोभिड १९ अर्थात् कोरोना भाइरसको महामारीबाट प्रभावित र संक्रमितको उद्दार र क्वारेन्टाइन व्यवस्थापनका लागि नेपाली सेना परिचालनका लागि केन्द्र सरकारसँग स्वीकृति माग गरेको छ ।

कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले नेपाली सेना परिचालनका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को कारण रोजगारी गुमाएका र महामारीबाट त्रसित भई भारतबाट ठूलो संख्यामा नेपाली नागरिकहरु स्वदेश फर्किने क्रम जारी रहेको र यसबाट प्रदेशमा महामारी झन् फैलिन थालेको तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षासम्बन्धी अन्य कार्यहरुमा समेत खटिनुपर्ने हुँदा नेपाली सेना परिचालन गर्नुपर्ने स्थितिमा स्वीकृतिका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

यसैबीच, मन्त्रीपरिषद् बैठकले २०७७ सालभर कर्णाली प्रदेशमा विभिन्न समयमा ८ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । बैठकले असार १५ गते धान दिवस प्रदेशका जुम्ला बाहेक ९ जिल्लामा र चैत्र १२ गते जुम्लामा मात्र गर्ने निर्णय भएको मन्त्री केसीले बताउनुभयो ।

यसैगरी साउने संक्रान्ति तथा देउडा पर्व साउन १ गते प्रदेशभर विदा गर्ने, प्रदेश स्थापना तथा शहिद दिवस भदौ ४ गते प्रदेशभर, चन्दनाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्लामा मात्र, माघे सक्रान्ति माघ १ गते, चैते दशैँ कर्णाली प्रदेश भित्र सार्वजनिक विदा दिने निर्णय भएको छ ।

यस्तै सरकारले पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ दफा ९ बमोजिम बजेट कार्यान्वयन सहजताको लागि आदेश जारी गर्ने, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने भएको छ ।

कर्णाली प्रदेश विनियोजन विधेयक २०७७ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ । कर्णाली प्रदेशमा व्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्नेछ ।