सुर्खेत, ८ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रिमियर लिग(केपिएल) टि–ट्वेण्टि क्रिकेट प्रतियोगितामा आज भएको तेस्रो खेलमा मध्यपश्चिम क्रिकेट क्लब विजयी भएको छ ।
मध्यपश्चिमले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ६ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाउन सक्यो ।
१ सय ७ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले १३ दशमलव ४ ओभरमा भेटायो । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका बलर प्रितम थापाले २ तथा श्याम त्रिपाठीले १ विकेट हात पार्नुभयो । खेलको प्लेयर अफ् द म्याच अमरसिंह रौटेला घोषित हुनुभयो ।
आजै भएको पहिलो खेलमा महाकाली क्रिकेट क्लबले भेरीगंगा क्रिकेट क्लबलाई ४ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको भेरीगंगा क्रिकेट क्लबले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो ।
१२३ रन लक्ष्य महाकालीले १७ दशमलव १ ओभरमा ६ विकेट पूरा गर्यो । खेलको प्लेयर अफ् द म्याच महेश साउद घोषित हुनुभयो ।
यसैगरी आज नै भएको दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले टिकापुर क्रिकेट क्लबलाई १७६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारीत २० ओभरमा २ विकेट मात्रै गुमाएर २ सय २६ रनको विशाल योगफल तयार गरेको थियो ।
२ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १५ ओभरमा ५० रनको योगफलमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । खेलको प्लेयर अफ् द म्याच सागर पुन घोषित हुनुभयो ।
आजको खेलसंगै अंकतालिकाको समूह ’ए’ मा रुपन्देही ११ तीन खेलमा ३ जितसहित शीर्षस्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबको ३ खेलमा २ जित र १ हारसहित ४ अंकमा रहेको छ । ४ वटा खेल खेलेको टिकापुर क्रिकेट क्लबको ४ खेल खेल्दा २ जित र २ हारसहित ४ अंक रहेको छ ।
यस्तै समूह ’बी’ मा धनगढी क्रिकेट एकेडेमी ३ खेलमा जितसहित ६ अंक शीर्ष स्थानमा रहेको छ भने मध्यपश्चिम क्रिकेट क्लबको ४ खेलमा ३ जित र १ हारसहित ६ अंकमा रहेको छ ।