कर्णालीको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

सुर्खेत, १६ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम भोली प्रदेशसभा संसदमा प्रस्तुत गर्न लागेको हो ।

आज दिउसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नीति तथा कार्यक्रम बाचन गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले उपचार, उत्पादन र रोजगारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

कोभिड १९ अर्थात् कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै प्रदेश सरकारले कोरोना विशेष नीति तथा कार्यक्रम ल्याउन लागेको छ । ‘खाद्यका लागि विकास’ भन्ने नारासहित नीति तथा कार्यक्रम ल्याउने र खाद्य उत्पादनसँगै आपूर्तिलाई पनि जोडिने प्रदेश सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयो ।

कोरोनाबाट प्रभावित युवालाई रोजगारी दिने गरी नीति तथा कार्यक्रम आउने उहाँको भनाई छ । आज सार्वजनिक हुने नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले असार १ गतेभित्र बजेट र योजना सार्वजनिक गर्ने छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्न बोलाइएको प्रदेश सभाको बैठकको जागरण एफ. एम. सुर्खेतमार्फत् कर्णाली प्रदेशका विभिन्न सामुदायिक रेडियोहरुले प्रत्येक्ष प्रशारण गर्ने छन् ।