यम लालको साहसः एउटै खुट्टाले साईकल चलाएर कैलालीदेखि राराको यात्रा (भिडियाेसहित)

चाँदनी कठायत

सुर्खेत, ९ जेठ (जागरण) । साईकलको पछिल्लो सिटमा नेपालको झण्डा, साईकल चलाउने व्यक्ति झट्ट हेर्दा विदेशी नागरिक जस्तो देखिने । न कुनै डर न कुनै चिन्ता । वस् छ त अाँट छ अनि साहस छ । अपा‌ंगप्रति समाजले हेर्ने दृष्टिकाेण बदल्नु पनि उहाँकाे उदेश्य हाे । साईकलको अगाडि साईन बोर्डमा लेखिएको थियो ‘अपाङ्गता नागरिकहरुको समान सहभागिता, सामाजिक न्यायमा सुनिश्चितता लम्कीदेखि रारासम्म’ । उहाँ अरु कोही नभएर सात नम्बर प्रदेशको कैलालीका यमलाल रसाईली हुनुहुन्छ । जसले एउटै खुट्टाले साईकल चलाएर एउटा कठिन यात्रा शुरु गर्नुभएको छ । कैलालीको लम्की चुहा नगरपालिका १ का ४० वर्षिय रसाईलीले जेठ चार गतेदेखि लम्कीदेखि कर्णालीको रारातालसम्मको यात्रा शुरु गर्नुभएको छ ।

रारासम्म पुग्नका लागि यात्रामा निस्किनुभएका उहाँ तीन दिन पश्चात वीरेन्द्रनगर आईपुग्नुभयो । अपांगता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन भन्ने सन्देश दिनका लागि आफूले एकल कठिन साइकल यात्रा सुरु गरेको रसाइलीले बताउनुभयो । ‘मैले लम्कीबाट रारासम्म एक खुट्टाले साइकल चलाएर यात्रा गर्दैछु’ मंगलबार सुर्खेतमा पत्रकारहरुसंग कुरा गर्दै उहाँले भन्नुभयो,‘यो यात्राबाट सबैको ध्यान आकर्षित भई अपांगता भएकाले पनि केही गर्न सक्छन भन्ने भावना जागोस भन्ने उद्देश्य हो ।’

अपाङ्गगता भएका व्यक्तिलाई हेयको दृष्टिकोणले हाम्रो समाजमा हेर्ने गरिन्छ, उहाँले थप्नुभयो,‘अपांगता भएकालाई सिमीत क्षेत्रमा राख्ने होईन अवसर अनि हौसला र साथ पायौँ भने हामी पनि जस्तो सुकै काम गर्न सक्छौँ ।’ उहाँ अाज (बुधबार) वीरेन्द्रनगरदेखि राराका लागि जाँदै हुनुहुन्छ ।

अन्धविश्वासले गुम्यो बाल्यकालमै खुट्टा
पुर्वी नेपालको पर्वत जिल्लामा पुख्र्यौली घर भएका रसाईलीको ४ वर्षको उमेरमा नै दायाँ खुट्टा गुमेको हो । तिहारको समय थियो, विगत सम्झिँदै उहाँ भन्नुहुन्छ,‘भैली खेल्न गएको थिएँ दाइहरुसँग, पछि दाइले राती लिएर घर सुताईदिनुभएछ , मलाई त्यो रातभर ज्वरो आयो साथमा खुट्टा पनि एकदमै दुखेको थियो ।’ उहाँको खुट्टामा साह्रै पिडा भएपछि धेरै दिनसम्म धामी झाँक्रि देखाईयो तर दुखाई बीसको उन्नाईस भएन । पछि गाउँमै रहेका वैद्यले उहाँको खुट्टामा काप्रो बानिदिए । त्यसको केही दिनपश्चात काप्रो उम्काउँदा त्यो सँगै रसाईलीको दायाँ खुट्टाको साँप्राको मासु पनि त्यो सँगै निस्कियो । त्यसपछि अन्त्यमा खुट्टा काट्नुको बाहेक अरु विकल्प केही रहेन । चार वर्षको उमेरमै खुट्टा गुमाउनुभएका रसाईलीले धेरै समयसम्म बाहिरी संसारको अनुभव गर्न पाउनुभएन । तर जब साईकल सिक्नुभयो अनि उहाँलाई जिउने आँट र केही गर्ने साहस मिल्यो । विगत २१ वर्षदेखि साईकल यात्रा गर्नुभएका उहाँले नेपालका ३८ जिल्ला घुमिसक्नुभएको छ । उहाँ एक दिनमा दुई सय भन्दा बढी किलोमिटरसम्मको यात्रा गर्न सक्नुहुन्छ । उहाँले २०५९ मा महाकालीदेखि मेची सम्मको साइकल यात्रा समेत गर्नुभएको थियो । यति मात्रै नभएर उहाँ भारतका विभिन्न स्थानमा पनि साईकल रेसमा भाग लिन पुग्नुभएको छ । तर उहाँ अपाङ्गता भएका सँग नभई सांग व्यक्तिसँगै प्रतिस्पर्धा गर्नुहुन्छ । अपाङ्गता भएका आफूहरुजस्तैका लागि कुनै पनि रेस नभएको पनि रसाईली सुनाउनुहुन्छ । अहिले कैलालीमा बस्दै आउनुभएका उहाँको श्रीमती, दुई सन्तान र आमा हुनुहुन्छ । घरको माईलो छोराको रुपमा जन्म लिनुभएका उहाँ कैलालीको लम्कीमै सिलाई कटाई ट्रेनिङ्ग सेन्टर संचालन गरेर बस्नुभएको छ ।

समाचारले दियो रारा पुग्ने आँट
२०७५ को वैशाख १ गते कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन राराबाटै गरिएको रसाईलीलाई पनि थाहा छ । सोही क्रममा प्रधानमन्त्री केपी ओलीले राराबाट भर्ना अभियान समेत सुरु गर्नुभयो । निकै तामझामका साथ उद्घाटन गरियो पर्यटन वर्षको उहाँले भन्नुभयो,‘त्यतिबेला प्रधानमन्त्रीलगायत अन्य मन्त्रीहरुले विद्यार्थी भर्ना अभियान शुरु गर्ने क्रममा एक जना अपांगता भएका बालकलाई छुटाईयो ।’ अपांग मैत्री विद्यालयको अभावमा ति बालकलाई भर्ना गर्न नसकेको समाचार पढेपछि निकै दुःख लागेको रसाईली सुनाउनुहुन्छ । रारा पुगेर प्रधानमन्त्रीले भर्ना गर्न नसकेका बालक पुन्नबहादुर कुलालाई भेट्ने र विद्यालय भर्नाका लागि पहल गर्ने योजना रहेको पनि रसाइलीले सुनाउनुभयो ।

प्रदेश सरकारद्धारा सहयोग
कसैको सहयोग विना नै आफ्नै उद्देश्यले साइकल यात्रामा हिड्नुभएका रसाईलीलाई कर्णाली प्रदेश सरकारले सहयोग गरेको छ । एक अपाङ्गता भएका साइकल यात्री रसाइलीलाई पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याएको भन्दै कर्णाली प्रदेश सरकारले सहयोग गरेको हो ।
आफ्नो रारा यात्राका बारेमा जानकारी गराउन मुख्य मन्त्री महेन्द्रबहादुर शाहीसंग पुग्नुभएका रसाइलीलाई प्रदेश सरकारले ३० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
भेटमा मुख्यमन्त्री शाहीले साइकल यात्राले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने भन्दै यात्राको सफलताको शुभकाना दिनुभयो । भेटमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश शान्त र सुरक्षित प्रदेश भएकाले ढुक्क भएर यात्रा गर्न उहाँलाई आग्रह गर्नुभयो ।

अन्य सहयोगी हातहरु जुट्दै
व्यक्तिगत खर्चमा रारा पुग्ने अठोटका साथ सुर्खेत आईपुग्नुभएका रसाइलीलाई सुर्खेतमा सहयोगी हातहरु जुटेका छन् । उहाँलाई सुर्खेतमा खाना तथा वासको व्यवस्था होटेल अर्गनाईजेशन सुर्खेतका अध्यक्ष तथा भ्याली भ्यू होटलका सञ्चालक तर्कबहादुर शाहीले गर्नुभयो । यस्तै युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देबकोटा र व्यवसायी बर्षा रावतले नगद तीन हजार सहयोग गर्नुभएको छ । साइकल यात्री रसाइलीलाई कारोबार पत्रिका संवादाता गोविन्द खत्रीले रारासम्मको समन्वयमा सहयोग गरिरहनुभएको छ । कैलालीमा ट्रि«ङ्स वाइक (साइकल ) कम्पनीले साइकल उपलब्ध गराएको छ भने अपांग चेतना समाज लम्की लगायत विभिन्न नागरिकहरुले सहयोग गरिरहेको रसाइलीले बताउनुभयो । करिब २० दिनमा रारा पुग्ने लक्ष्य रसाईलीको छ । उहाँले यात्राका क्रममा आफूलाई आवश्यक पर्ने सबै सामान पनि साथमै बोकेर हिँड्नुभएको छ । यात्राका क्रममा उकालो बाटोमा प्रत्येक दश मिनेटमा उहाँ विश्राम लिनुहुन्छ भने सजिलो बाटोमा सहजै साईकल चलाउनुहुन्छ । (हेर्नुस् भिडियाे)